
काठमाडौं । मंगलबार बिहान एक्कासि महान्यायाधिवक्ता अग्नि खरेलको राजीनामाको हल्ला चल्यो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषदको बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्ने तयारी चल्दै गर्दा सरकारका कानुनी सल्लाहकार खरेलले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएको केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल बन्यो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा ‘हेर्दाहेर्दैमा’ राख्नु र महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको हल्लाबीच केही समानता छ कि भन्ने अर्थ लगाउन थालिएको छ । तर, खरेलले आफूविरुद्ध षड्यन्त्र रचिएको बताएका छन् । उनले निकट पत्रकारलाई भने, ‘मैले राजिनामा दिएको छैन, मेरो विरुद्ध षडयन्त्र रचियो ।’
महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढंगले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री ओलीको बुझाई भए पनि राजीनामा दिइहाल्न भने दबाब नदिएको बताइन्छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।