रिबन

विप्लव नेकपाको प्रतिबन्ध हटाइँदै, मन्त्रिपरिषद्ले आज निर्णय गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । विप्लव नेकपाको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा पेस भएको बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा गृहमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति रहने व्यवस्था छ । अहिले रक्षामन्त्रीको कार्यभार प्रधानमन्त्री केपी ओली आफैंले सम्हालेका छन् । सोही कारण प्रधानमन्त्री ओलीले विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याउन उनको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न प्रस्ताव पेस गरेको बालुवाटार उच्च स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले विप्लव नेकपाका नेतासँग वार्ताका लागि खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई जिम्मेवारी तोकेका छन् । मन्त्री थापाले केही समयअघि सो पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागारमा भेटेका थिए ।

यसअघि विप्लवले शनिवार विप्लवले विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए । ओली प्रधानमन्त्री भएलगत्तै विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाइएको थियो । अहिले ओली आफैं विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न लागिपरेका छन् ।

सुरक्षा मन्त्रिपरिषद्को बैठकलगत्तै मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकमार्फत सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकाउँदै वार्ताका लागि आह्वान गर्ने तयारी छ ।
यस्तै, सर्वोच्च अदालतको फैसलापछिको सम्भावित सुरक्षा रणनीति बनाउन सुरक्षा परिषद् बैठकमा छलफल भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *