रिबन

सर्वोच्च अदालत र वरिपरिको सुरक्षा व्यवस्था कडा

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको क्रममा रहेकै बेला निर्वाचन आयोगले सामग्री खरिदका लागि टेण्डर खुलाएको छ । यही व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ ।

सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो । जसले गर्दा एक–दुई दिनभित्रै फैसला आउने सभावना बढेको छ ।

जानकारहरुका अनुसार अदालतले कुन प्रकारको फैसला गर्छ, त्यहीअनुसार मुलुकको राजनीतिक दिशा अघि बढ्ने छ । गत शुक्रबार नै इजलासका तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारका लागि पेसी राखिने बताएका थिए । उनले भनेका थिए, ‘निसुको त प्रश्नै भएन , ११ गते हेर्दाहेर्दै छ । त्यही दिन पनि हुनसक्छ । १२ गते पनि हुनसक्छ ।’

सर्वोच्च उच्च स्रोतका अनुसार, दबाब र प्रभाव बढ्न सक्ने भन्दै प्रधानन्यायाधीश जबरा छिटो निर्णय सुनाउनुपर्ने पक्षमा छन् । तर इजलासमा सामेल अरू न्यायाधीशले ‘सरसर्ती भए पनि बहस नोट हेर्नुपर्ने’ भन्ने सल्लाह दिएपछि उनी राजी भएका हुन ।

मंगलबारदेखि फेरि मुद्दा हेर्दाहेर्दैमा जान थालेपछि बढीमा दुई र तीन दिनमा निर्णय सुनाइनेछ । पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुन्छ । न्यायाधीशहरूबीच राय बाझिएमा बहुमत न्यायाधीशहरूको जे राय हुन्छ, त्यही निर्णय सदर हुन्छ ।

हरेक न्यायाधीशहरू आफ्नो राय दिन स्वतन्त्र हुने भएकाले इजलासको नेतृत्व गर्ने प्रधानन्यायाधीश जबराको भूमिका पनि एउटा न्यायाधीशको भन्दा बढी हुँदैन । त्यसकरण अहिलेको अवस्थमा बहस नोट पढ्नका लागि दुई दिनसम्म समय लाग्नसक्ने जानकारहरुको दावी छ ।

यद्यपि प्रधानन्यायधीशले चाहेमा मंगलबार साँझ पनि फैसला आउन सक्छ । फैसला के आउँछ भन्नेबारेमा कसैलाई पनि जानकारी र अनुमान छैन । अहिले सर्वोच्च अदालत र वरिपरीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *