शिक्षा / स्वास्थ्य

नेपालमा थप ६ राष्ट्रिय भाषा पहिचान

काठमाडौं । मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण र शव्दकोष निर्माणका काममा पछिल्लो समय भाषा आयोगले सक्रियता देखाएको छ ।

आयोगले गत वर्ष ३१ भाषाको पाठ र शब्द सङ्कलन, शब्दकोश निर्माण, भाषिक इतिहास लेखनका काम सम्पन्न गरेको छ भने यस वर्ष ३३ वटा भाषाको व्याकरण र शब्दकोश निर्माणको काम गर्ने जनाएको छ । नेपालमा बोलिने विभिन्न भाषाहरू लोप हुन लागेको अवस्थामा भाषा आयोगले त्यस्ता भाषालाई पुनर्जीवन दिन पहल गरिरहेको छ ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १ सय २३ भाषा रहेकामा आयोगले थप ६ वटा भाषाको पहिचान गरेको छ । पहिचान भएका नयाँ भाषामा राना थारु, नारफु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषाहरू कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुई वटा भाषा गोरखामा बोलिने पाइएको छ । योसँगै अब नेपालमा बोलिने भाषाको सङ्ख्या एक सय २९ पुगेको छ ।

आयोगले वाम्बुले, राजी, डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण यसअघि नै निर्माण गरिसकेको छ भने दनुवार, कुसुण्डालगायत केही भाषाको पनि व्याकरण निर्माणका लागि विज्ञहरुमार्फत् काम अघि बढाएको छ ।

विभिन्न भाषालाई पुनर्जीवन दिँदै निर्माण गरिएको शब्दकोशको प्रयोगलाई पनि ख्याल गरिएको आयोगका मातृभाषा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनले बताउनुभयो । नेपालभित्र बोलिने विभिन्न भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायको समेत सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले गत आर्थिक वर्षमा लिङ्खिम, बज्जिका, छन्त्याल, सन्थाली, भोट, शेर्पा, थामीलगायतका भाषाको अभिलेखीकरण गरिसकेको छ ।

नेपालमा बोलिने १ सय २३ वटा भाषामध्ये चीन–तिब्बती परिवारका ६८, भारोपेली परिवारका ४८, आग्नेली परिवारको एउटा मात्रै भाषा सन्थाली, द्रविड परिवारको उराँव र कुडुख र भाषिक परिवार नखुलेको कुसुन्डा भाषा अस्तित्वमा छ ।

लोप हुने अवस्थामा पुगेका विभिन्न भाषाको शब्दकोशमा एकबाट अर्कोमा अनुवाद गरेर पनि हेर्न सकिने गरी शब्दकोश निर्माण गरिएको जानकारी दिँदै आयोगका मातृभाषा शाखा प्रमुख डा.लोप्चनले यो व्याकरणलाई डिजिटल रुपमा पनि अभिलेखीकरण गर्न लागिएको जानकारी दिनुभयो ।

पूर्वीय दर्शन र सभ्यताका धरोहर पाली, संस्कृत र भोट भाषाहरू यतिखेर सङ्कटग्रस्त अवस्थामा छन् । अङ्ग्रेजीप्रतिको मोह र बजारले सिर्जना गरेको भ्रमका कारण नेपालको भाषिक विविधता र बहुभाषिक जीवन पद्धति सङ्कटमा पर्दै गएको छ । भाषा रहे पहिचान हुने भएकाले लोप हुने अवस्थामा पुगेका विभिन्न भाषाको खोज र अनुसन्धान गरी त्यसलाई बचाउन सके मात्रै भावी पुस्ताले भाषिक अस्तित्वको अपनत्व लिने अवसर पाउनेछन् ।
यशोदा अधिकारी/रेडियो नेपालबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *