रिबन

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरिने

काठमाडौं । प्रधानमन्त्री केपी ओली आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने गरी बोलाइएको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको बताइएको छ । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेको थियो । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

सरकारले मिति तोकेर प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले संसद् बैठक आह्वान गर्नेछिन् । त्यसका लागि बिहीबार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको थियो ।

नेकपाको बहुमत पक्षले अविलम्ब प्रतिनिधिसभा बैठक बोलाउन सरकारलाई दबाब दिइरहेको छ । सर्वोच्चको फैसलाअनुसार फागुन २४ गतेभित्र संसद् बैठक बसिसक्नुपर्ने हुन्छ । त्यही बीचको मिति तोकेर आजको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *