रिबन

रजनीतिको केन्द्रविन्दुमा देउवा : भारतीय र चिनियाँ राजदूत बुढानिलकण्ठमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार निर्माण प्रक्रिया अघि बढाउने नेकपा प्रचण्ड–माधव समूहले तयारी गरेको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो छलफल गरेका थिए ।

नेकपा कानुनी रूपमा विभाजन नभए पनि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि नेपाली कांग्रेसका सभापति देउवा फेरि एकपटक राजनीतिको केन्द्रविन्दुमा आइपुगेका छन् । नेकपा विभाजन नभई नयाँ सरकार गठन हुन सक्ने अवस्था छैन । तैपनि दुवै समूह सँगै बस्ने अवस्था तत्काल नदेखिएकाले कांग्रेस सभापति देउवा वरिपरि नेपालको राजनीति घुम्ने अवस्था आएको छ । अझ नेकपा ओली र प्रचण्ड–माधव समूह दुवैले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हल्ला सँगै भारत र चीनका राजदूतको सक्रियता बढेको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै चीन र भारतका राजदूतहरू सक्रिय भएका हुन् । चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनयमोहन क्वात्रा कांग्रेसका सभापति देउवासँग बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । दुबै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग बिहीबार बेलुका छलफल गरेको बूढानिलकण्ठ स्रोतले जानकारी दिएको छ ।

यसअघि नयाँ राजनीतिक घटनाक्रमपछि सहकार्य गर्नुपर्छ भन्दै नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल बुधवार सभापति देउवा निवास पुगेका थिए । प्रचण्ड र नेपालको सत्ता सहकार्य गर्ने प्रस्तावलाई देउवाले पार्टीमा छलफल गर्ने भनेर जवाफ दिएका थिए । बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा विभाजनको टुंगो नलागेसम्म तत्काल सरकार गठन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *