विचार

जनताको अहितमा कसैसँग सम्झौता गर्दिन्


मोरङमा १७ वटा स्थानीय तह छन् । त्यसमध्ये सुनबर्सी पनि एउटा हो, जहाँ तराई समुदायको बाहुल्यता र दुईवटा वडा भारतसँग सीमा जोडिएका छन् । सुनवर्सी नगर उप-प्रमुख मञ्जु राई हुन्, उनी नेपाली कांग्रेसबाट लोकप्रिय मत ल्याएर विजयी भएकी हुन् । उप-प्रमुख राईको काम गर्ने शैली र निर्णय गर्ने क्षमता नगरवासीले औधी मन पराए, त्यसैले उनी नगरमा लोकप्रिय छन् । स्थानीय पालिकामा जनप्रतिनिधिको पहिलो कार्यकाल लगभग अन्त्यतिर आइसक्यो । यस अवधिमा उप–प्रमुख मञ्जुले नगरवासीका लागि के त्यस्तो काम गरिन् ,जसले उनलाई लोकप्रियको शिखरमा पुर्यायाे ? यिनै समसामयिक विषयमा संकल्प खबरले मञ्जुसँग गरेको कुराकानीको सम्पादित अंश–

० कोभिड संक्रमण सामना कसरी गर्दै हुनुहुन्छ ?
हाम्रो नगरपालिकाको दुईवटा वडा भारतीय सीमासँग जोडिएको छ । जसले गर्दा संक्रमण फैलिने चान्सेस एकदमै धेरै थियो । संक्रमण रोक्न स्रोत र साधनले भ्याएसम्म हामीले धेरै काम ग¥यौं । संयमता र सावधानी अपनाइयो । यद्यपि म आफै पनि संक्रमित भएँ, भाग्यवस कुनै नोक्सानी भएन । विश्वमै अहिले विस्तारै संक्रमण नियन्त्रणमा आउँदैछ ।

० न्यायिक समितिमा कामको चाप कत्तिको छ ?
लामो समय लकडाउन भएकाले काम थुप्रिएको थियो । अहिले ती थुप्रिएका काम फस्यौट भइरहेका छन् । जनताको काम आवश्यकता हेरेर तत्कालै गरिन्छ । जनतालाई दिइने सुविधामा कन्जुस्याइँ गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।

० विशेष कस्तो मुद्दा आउँछन् ?
हाम्रो नगरपालिकामा तराई समुदायको बाहुल्यता छ । डिर्भोस, साँधसीमा र बाटाघाटाका मुद्दा बढी आउँछन् । विशेषतः तराई समुदायमा बालविवाहको प्रचलन बढी छ, उमेर पुगेपछि सम्बन्ध विच्छेद गर्ने मुद्दा एकदमै बढी आएको छ ।

० बाल विवाह रोक्ने योजना ल्याउनु भएन ?
बालविवाह रोक्न नगरपालिकाले अभियान नै चलाएको छ, जुन धेरै प्रभावकारी रहेको हामीले पायौं । प्रत्येक वडामा हामीले यसबारे सचेतना कार्यक्रम सञ्चालन मात्र गरेका छैनौं, यो परम्परालाई निरुत्साहित गरिरहेका छौं ।

० विकास निर्माणका काममा योगदान दिनुभएन ?
हामी जनप्रतिनिधि र कर्मचारीको समन्वयमा धेरै विकास निर्माणका काम अघि बढाएका छौं, जनताको आवश्यकता हेरेर हामीले यातायात, शिक्षा, स्वास्थ्य र कृषि विकासमा केन्द्रित रहेर काम गरेका छौं भन्ने मलाई लाग्छ । यसको प्रमाण चाहिँ हामीले गरेको विकास खर्च हो । हाम्रो नगरपालिकामा झन्डै ९० देखि ९५ प्रतिशतसम्म विकास खर्च भएको छ ।

० कृषि प्राथमिकतामा परेन ?
कृषि र यातायात हाम्रो पहिलो प्राथमिकतामा हो । पालिकामा झन्डै ५३ किलो मिटर पिच बाटो बनेको छ । सिँचाइको व्यवस्थालाई महत्व दिएका छौं, सब्जी खेती गर्ने कृषकलाई बिउबिजन अनुदानमा दिनेलगायत पशुपालनमा पालिकाले ध्यान केन्द्रित गरेको छ ।

० कार्यकाल सकिन लाग्यो, कामप्रति सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट हुने होइन, मेरो कामबाट जनता सन्तुष्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो । विकास निर्माण भन्ने कुरा चमत्कार होइन, त्यसका आधारशीला निर्माण गरेका छौं । हाम्रा धेरै राम्रा योजना पाइपलाइनमा छन् । ती योजना पूरा नभइ म सन्तुष्ट हुन सक्दिनँ । साधन स्रोतले भ्याएसम्म जति काम गरेको छु, त्यसबाट जनतालाई सन्तुष्ट पार्ने प्रयास गरेको छु ।

० भए त सन्तुष्ट ?
विकास निर्माणका अधुरा कामबाट जनता सन्तुष्ट हुन नसके पनि मेरो काम गर्ने शैलीप्रति सर्वसाधारण खुशी छन् भन्ने लाग्छन् । बोल्ड डिसिजन गर्ने मेरो क्षमता, सर्वसाधारणको सुखदुखमा साथ दिने मेरो आदत्त र अन्यायविरुद्ध आवाज बुलन्द गर्ने मेरो चरित्रबाट नगरबासी खुशी छन् भन्ने मेरो ठम्याइँ छ ।

० तराई समुदायको बाहुल्यता भएको क्षेत्रमा तपाईं पहाडी जनप्रतिनिधि ?
हो, हाम्रो नगरपालिकामा ७० प्रतिशतभन्दा बढी मधेशी समुदायको बाहुल्यता छ । यद्यपि म यहाँ नयाँ होइन, मेरो बुवाको पसिनाले यो क्षेत्र सिञ्चित छ । विशेष यस क्षेत्रको शिक्षा विस्तारका लागि मेरा पिताजीले महत्वपूर्ण योगदान दिनुभएको छ । टिकट माग्न म कसैको घरदैलोमा पुगिन् । यो क्षेत्रको विकास र जनतामा जागरुकता ल्याउन मलाई नेपाली कांग्रेसले खटाएको हो । मेरो काम गर्ने शैली र स्वभावबाट अहिले पनि यहाँका जनता मलाई नै खोज्छन् ।

० आउँदो कार्यकालका लागि मेयरको तयारी हो भन्न मिल्छ ?
यो मैले भन्ने कुरा होइन, नगरवासीको चाहना र आवश्यकता हेरेर पार्टी गर्ने निर्णय हो । जनताको सेवा गर्न दृढ छु, त्यसका लागि कसैसँग सम्झौता गर्दिन् । पार्टीले दिएको जुनसुकै जिम्मेवारी सम्हाल्न म योग्य छु ।

० उपमेयरको दुःख ?
जनताको सेवा गर्न आएको दुःख मान्न हुँदैन । यद्यपि दुःख आफ्ना ठाउँमा होलान् तर समय र परिस्थितिसँग जुधेर जनताको काम गर्दा मलाई दुःख होइन सुखअनुभूति हुन्छ ।

० तपाई पुरानो कांग्रेस ?
पुरानो होइन, गर्भे कांग्रेस हुँ, बीपीको विचारबाट ओतप्रोत भएका मेरा पिताले समेत नेपाली कांग्रेसमा धेरै दुःख गर्नुभएको थियो । दाजुभाइ राजनीतिमा छैनन्, हामी पाँच दिदीबहिनी मध्ये कसैले कांग्रेस पार्टीबाट राजनीतिमा सहभागी होस् भन्ने चाहना बुवाको थियो । त्यो बिढो मैले सम्हालेको छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *