रिबन

केपी ओली ‘जबज’ छोड्ने नेकपाका पहिलो नेता हुन्: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन एमाले जनताको वहुदलीय जनवाद (जवज) छाड्ने पहिलो नेता नै केपी शर्मा ओली भएको बताए । ललितपुरको जावलाखेलमा आज शनिबार आयोजित प्रचण्ड–नेपाल पक्षका शिक्षकहरूको राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले ओलीले आफूहरुलाई एमाले र अर्को पक्षलाई माओवादी भनेर भ्रम सिर्जना गर्न खोजेको बताए ।

‘आजभोलि केपी ओलीले ‘जबज हामी, एमाले हामी अर्को त माओवादी हो’ भनेर जो भ्रम दिन खोजिरहेका छन् योभन्दा ठूलो झुट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन,’ प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवाद ‘ड्रप’ गर्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्गप्रसाद ओली अर्थात् केपी ओली नै हो । त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन् । यो चाहिँ सत्य हो ।’

उनले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन् । पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको पनि उनले बताए । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति को सँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन,’ उनले थपे, ‘यो विचारको विषय हो । यो विधि, पद्धतिको विषय हो । विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन ।’

नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा शिक्षकरुहको भूमिका महत्वपूर्ण रहेको उनले बताएका छन् । उनले आफू समेत शिक्षकबाट आन्दोलनमा होमिएको स्मरण गरे । उनले विगतमा भएका प्रायः सबै आन्दोलनमा शिक्षकहरुले ठूलो योगदान दिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *