रिबन

मन्त्रीले सांसद खरिद–बिक्री हुँदैछन् भन्न मिल्छ ? सरकारले बाहेक कसले किन्छ सांसद ?

काठमाडौं । नेकपा र सरकारमा रहेका मन्त्रीका अन्टसन्ट अभिव्यक्तिका कारण सम्पूर्ण नेपाली जनताको शिर निहुरिन थालेको छ । कहिले सहपाठी नेता, कहिले धार्मिक आस्था, कहिले महिलामाथि असभ्य अभिव्यक्ति त कहिले जनप्रतिनिधिलाई नै खरिदबिक्रीको वस्तु जसरी टिप्पणी गर्ने गरेका छन् ।

शनिबार एकैदिन नेकपाका दुई नेताले सांसद खरिदबिक्री हुने सम्भावना रहेको बताएका थिए । नेकपा ओली समूहका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतनिधिसभा पुनःस्थापनापछि सांसदहरूको खरिद बिक्री हुने सम्भावना रहेको बताएका हुन् ।

अहिले सांसद आफूतिर तान्ने प्रयास नेकपाका दुवै समूहबाहेक अरु कुनै दलले गर्न आवश्यक छैन । त्यसमाथि पनि सरकारमा रहेको दलले नै सांसद खरिद गर्ने सम्भावना हुन्छ । किनभने सत्ता टिकाउन राज्यकोषको दुरुपयोग गर्ने ताकत उससँगै हुने गर्छ ।

अहिले नेकपाको संसदीय दलमा ओली अल्पमतमा छन् । उनीसँग प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी ११० रहेको ओली समूहका नेताको दाबी छ । बहुमत ल्याउन थोरै सांसदको आवश्यकता रहेकाले ओली समूहले सांसद खरिद गर्ने सम्भावना धेरै रहेको नेकपा प्रचण्ड समूहका नेताहरू बताउँछन् ।

फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा प्रचण्डठ–माधव समूहको तयारी छ । कांग्रेस र जसपा पनि ओलीसँग असन्तुष्ट छन् । त्यसैले विश्वासको मत जुटाउन पनि ओली नेकपाले सांसद किन्ने प्रयास गरिरहेको आरोप नारायणकाजी श्रेष्ठले दाबी गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट