
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
मोदीले सोमबार बिहान कोभ्याक्सिन खोप लगाएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। कोभ्याक्सिन खोप भारतीय कम्पनी भारत बायोटेकले विकास गरेको हो ।
खोप लगाइसकेपछि मोदीले ट्विट गर्दै भनेका छन्, ‘यो उल्लेखनीय छ कि हाम्रा चिकित्सक र विज्ञानिकले नै कोभिड १९ विरुद्धको विश्वव्यापी लडाइँलाई थप मजबुत बनाउने काम गर्नुभएको छ।’
भारतमा साढे दुई करोडभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । आफ्नै देशमा कोभिडविरुद्धको खोप विकास भए पनि मोदीले नलाएको भन्दै आलोचना हुँदै आएको थियो ।
अहिले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । २० भन्दा बढी राज्यमा दैनिक कोरोना संक्रमण हुने र मृत्युदर बढेको छ । भारतमा नयाँ प्रजातिको कोरोना फैलिएको विज्ञहरूले बताएका छन् ।