प्रदेश नं. १

साडी चोलो पहिरिएर शासकप्रति व्यङ्ग्य गर्ने नवीन

इलाम । भनिन्छ, साहित्य अभावबाट जन्मिन्छ । ग्रामीण परिवेश, दुःख, पीडा झेलेकै व्यक्तिले साहित्यिक सिर्जना बढी गर्न सकेका छन् पनि भनिएको छ । दुःखसँग पौँठे जोरी खेल्दै समाज परिवर्तनका लागि अनेक प्रयत्न भएका छन् । समाज परिवर्तनका लागि साहित्य एउटा मुख्य पाटो हो ।

आफ्नो जीवन विपन्नताबाट गुज्रिरहँदा पनि निरन्तर साहित्य रचना गरिरहने साहित्यकार हुन् इलामे साहित्यकार स्वर्गीय विष्णु नवीन । साधारणतया अरु साहित्यकारको जीवनभन्दा कठोर तवरले नवीनको जिन्दगी बित्यो । विसं १९९५ मा जन्मिएका उनको इलामसँग जोडिएर नाम आउँथ्यो । इलामको साहित्यिक संसारमा नवीनको नाम उपल्लो दर्जामा छ । “इलामबाट आएको भनेर काठमाडौंमा भन्यो भने नवीन के गर्दैछ भनेर भन्थे, उहाँको छाप त्यस्तो थियो”, सांस्कृतिकविद् युद्धप्रसाद वैद्य भन्छन् ।

यसरी बित्यो बाल्यकाल
नवीनको साहित्य जति उज्यालो छ जीवन त्यति नै अँध्यारो थियो । नवीनका बुबाका दुई श्रीमतीमध्ये कान्छीबाट नवीनको जन्म भएको थियो । “उहाँलाई बुबाले नै हेला गरेपछि पाटीमा सुत्नुपरेको थियो, उचित हेरचाह पनि गरेनन्”, डा देवी क्षेत्री दुलालले लेखेको नवीनको कथाकारिता पुस्तकमा भनिएको छ, “त्यसरी घरबाट पाटीको बासमा पुगेपछि आमाले खेताला गएर ल्याएको मानामुठी र आनासुकीले परिवार चल्न थाल्यो ।” अभावैअभावमा नवीनको पढाइ इलामकै भाषा पाठशालामा सुरु भयो ।

नवीनले विसं २०१२ मा आदर्श पद्‍म माध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरे । विद्यालय जीवनमै पनि नवीनको जीवनमा अनेक बाधा आए । विसं २०१७ मा इलामबाटै प्रवेशिका परीक्षा उत्तीर्ण गरेका नवीनले प्रवीणता प्रमाणपत्र तह पार गर्न सकेनन् ।

साहित्यको कोशेढुङ्गा
नेपाली भाषा प्रचारक संघ करफोकको आयोजनामा इलामको करफोकमा विसं २००९ मा राष्ट्रिय साहित्य सम्मेलन भयो । सम्मेलनमा सहभागी हुन महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालसहितका साहित्यकारको उपस्थिति थियो । इतिहासकार वैद्यका अनुसार नवीन त्यही कार्यक्रममा पुगेपछि साहित्यप्रति आकर्षित भए ।

सोही दिनपछि इलाम साहित्यमय भयो । यसको प्रभाव नवीनमा परेको वैद्यको भनाइ छ । यता डा क्षेत्रीद्वारा लिखित नवीनको जीवनीअनुसार भारतीय शिक्षकको प्रभाव नवीनमा परेको थियो । विसं २०१४ मा पाल्पाबाट प्रकाशित ‘कोपिला’ पत्रिकामा नवीनको ‘एक पैसा’ शीर्षकको छोटो कथा छापिएको थियो । नवीनको ‘श्रीमतीसँग एक दिन’ (हास्यव्यङ्ग्य सङ्ग्रह–२०२२), उनको स्मृतिमा (खण्डकाव्य) २०२४, छातीमा नआएका कुरा (हास्यव्यङ्ग्य सङ्ग्रह–२०२९), लोग्ने–स्वास्नी (कथासङ्ग्रह, २०३८) कृति प्रकाशित छन् ।

साहित्य, पत्रकारिता र सांस्कृतिक क्षेत्रका त्रिवेणीका रुपमा नवीनलाई हेरिन्छ । नवीनले जीवन चलाउन विभिन्न ठाउँमा जागिर खाए तर उनको जीवनमा सधैँ आर्थिक खडेरी भने रहिरह्यो । नवीनसँग कहिल्यै पैसा नहुने र कतिदिन त भोकै पनि सुत्नुपर्ने अवस्था थियो ।

सांस्कृतिकविद् वैद्य सम्झन्छन्, “नवीनलाई खान, बस्न प्रबन्ध मिलाइदिन सकेको भए उनी निरन्तर लेखिरहन्थे ।” नवीनको जीवनमा कहिल्यै सुख र शान्ति आएन । यस्तै समस्याका बाबजुद पनि नवीन निरन्तर लेखिरहे । नवीनको जीवनसँगका घटना सम्झँदै साहित्यकार गणेश रसिक भन्छन्, “पुस्तक र पत्रिका पढ्ने उहाँको अजीवको बानी थियो ।” साहित्यकार रसिक भन्छन्, “सधैँ एउटा झोला बोक्ने र त्यही झोलामा पत्रिका र पुस्तक हुन्थे ।” रसिककाअनुसार साथीभाइप्रति नवीनको लगाव बेग्लै किसिमको थियो । आर्थिक अभाव भए पनि नवीन साथीभाइलाई घरमा लगेर राख्थ्ये । रसिक भन्छन्, “घरमा पुस्तक राख्ने ठाउँ पनि थिएन । थाल, बोटुका राख्ने ठाउँमै पुस्तक राखिएको हुन्थ्यो ।”

नवीन एक विद्रोही पनि थिए । उनी समाजलाई व्यङ्ग्य गर्न साहित्यिक कृति मात्र नभई भौतिकरुपमै भिन्न व्यवहार गर्थे । नवीन प्रायः बजार आउँदाजाँदा महिलाका लुगा लगाएर निस्किन्थ्ये । शरीरमा साडीचोलो लगाएको देखेर धेरैले उनलाई बौलाहा भन्ने गरेका थिए ।

“महिलाको र आफ्नो स्थान उस्तै भएकाले नवीनले व्यङ्ग्यका लागि साडी चोलो लगाएको हुन सक्छ”, साहित्यकार एवं इलाम साहित्यिक प्रतिष्ठानका अध्यक्ष टीका घिमिरे भन्छन्, “म पागलभन्दा पत्याउँदिन, उहाँको कृतिमा पागलपन झल्किँदैन ।” नवीन साडी चोलो मात्र लाउने होइन । अनेक किसिमका व्यङ्ग्य गर्थे । नवीनले विशेषगरी सामाजिक विषयवस्तुलाई आधार बनाएर साहित्य रचना गरेको देखिन्छ । सामाजिक विषयलाई कथाको मूल स्रोत ठानेर नवीनले यौनलाई प्रमुखता बनाएर लेखेको देखिन्छ ।

डा देवी क्षेत्री दुलाल आफ्नो पुस्तकमा लेख्छन्, “नवीनको साहित्यमा सामाजिक कथामा गुरुप्रसाद मैनाली र यौन मनोविज्ञानमा विश्वेश्वरप्रसाद कोइरालासँग मिल्छ, तर कोइरालाले यौनिक विषयलाई ध्यान दिए, नवीनले यौनलाई व्यावहारिक पक्षलाई चित्रण गरे ।”

नवीनका कृतिको सन्देश
नवीनले साहित्यबाट विभिन्न सन्देश दिन खोजेको देखिन्छ । यौन मनोविज्ञान, राष्ट्रियता, सामाजिक परिवेशलाई आधार बनाएको देखिन्छ । उहाँ साहित्यमा लैङ्गिक असमानतालाई जोड्ने सेतु बनेका छन् ।

इतिहासविद् वैद्यकाअनुसार नवीन राष्ट्रियतामा अडिग थिए । उनको ‘छातीमा नअटाएको कुरा’ मा आफू राष्ट्रवादी भएको प्रमाणित गरेको वैद्य सुनाउँछन् । “कतिपय ठाउँमा राष्ट्र विरोधी कुरा गरे उहाँ रिसाइहाल्नुहुन्थ्यो”, वैद्य सुनाउँछन्, “साथीभाइ कसैलाई राष्ट्रियताका विषयमा तत्कालीन शासकले जेल लगे, नवीन त्यसलाई होइन मलाइ लैजासम्म भन्नुहुन्थ्यो ।” डा क्षेत्रीले लेखेको नवीनको जीवनीमा नवीनको साहित्यमा क्रान्तिकारी र परिवर्तनमुखी भाव भेटिने गरेको लेखिएको छ । नवीनले क्रान्तिकारी नेता ज्ञानीराम भट्टराईको स्मृतिमा लेखेको पुस्तक ‘उनको स्मृतिमा’ पुस्तकमा यथास्थितिलाई धज्जी उडाउँदै लेखिएको बताइएको छ ।

नवीनका साहित्यमा सबै विधा हेर्दा हास्यव्यङ्ग्य विधा बढी प्रयोग गरेको देखिन्छ । समाजलाई व्यङ्ग्य गर्न नवीन आफू कार्यरत संस्थाकैविरुद्धमा पनि व्यङ्ग्य गरेको देखिन्छ ।

साहित्य मात्र होइन नवीन सांस्कृतिक विषयमा पनि हुरुक्कै हुन्थे । कुनैबेला नवीन इलामको देउमाई नगरपालिकास्थित मंगलबारेको एक विद्यालयमा अध्यापन गराउथ्ये । त्यसैबेला त्यहाँ नेवारी समुदायको रोपाइँ जात्रा सुरु गरिएको थियो । पञ्चायतको जगजगीका बेला धेरै साहित्यकार शासकप्रति औँला ठड्याउन डराउथे तर नवीन यस्ता व्यक्ति थिए । निरन्तर कलम चलाउन कोहीसँग डराएनन् ।

इतिहासविद् वैद्यकाअनुसार नवीनकै अगुवाइमा त्यहाँ जात्रा चलाइएको थियो । जुन जात्रा अहिले पनि चलिरहेको छ । इलामका जुनसुकै सांस्कृतिक कार्यक्रममा पनि नवीन पुग्ने गरेको उनका समकालीन व्यक्ति सम्झन्छन् । इलामका पुराना वाद्यवादक राम दियालीकाअनुसार इलाम बजारमा वर्षेनी हुने रोपाइँ जात्रा, गाई जात्रामा नवीनको उपस्थितिले नै हर्षोल्लास हुन्थ्यो ।

इतिहासविद् वैद्य जुनसुकै कार्यक्रममा पनि नवीन अनिवार्य नाच्ने गरेको सम्झन्छन् । नवीनको मृत्युपछि इलामका सांस्कृतिक कार्यक्रममा रौनक नभएको समकालीन व्यक्ति सुनाउँछन् । यस्तै नवीनको जीवन पत्रकारितासँग पनि जोडिएको देखिन्छ । उनी २०१९ सालमा ‘शिक्षापथ’ नामक ‘हस्तलिखित’ पत्रिकाको सम्पादक थिए । त्यसपछि ‘आँशु’ र ‘कोपिला’ पत्रिकाको सहसम्पादक भएर पनि काम गरेको देखिन्छ । यस्तै मेची पाक्षिक पत्रिकालगायतका देशका विभिन्न भागमा रहेका पत्रिकामा स्तम्भ लेख्ने गरेका थिए ।

नवीनको साहित्यलाई ध्यान नदिँदा
समाजले नबुझेकै कारण बाँचुञ्जेल नवीनलाई एक पागल जस्तो बनाइयो । समाजका व्यवहारमा फरक प्रवृत्ति देखाएका कारण नवीनलाई ‘अर्ध पागल’ वा ‘पागल’ भनिन्थ्यो । उनका केही कृति प्रकाशित भए पनि केही कृति छापिने क्रममा छन् । उनका केही कृति भने अझै फेला परेका छैनन् । नवीनका छोरा स्काइ नवीनले भने बुबाका साहित्यिक कृतिका बारेमा आफू जानकार नभएको बताउँछन् । “पहिलेको कुरा हो, कहाँ छन् केही थाहा छैन”, उनले भने ।

इलाम साहित्यिक प्रतिष्ठानले केही समयमै नवीनका केही कृति प्रकाशित गर्न लागेको बताएको छ । प्रतिष्ठानका सचिव दिवाकर भण्डारीकाअनुसार नवीनका कृति ‘केही सोधी, केही खोजी’, ‘श्रीमतीले पान खाँदा’ प्रकाशोन्मुख छन् ।

यसका साथै अन्य केही फुटकर रचनासमेत प्रकाशन गर्ने तयारी छ । यस्तै इलाम नगरपालिकाले चियाबगान नजिकै नवीनको प्रतिमासहित चौतारो निर्माण गरेको छ । नगरपालिकाकै अगुवाइमा नवीनको पुरानो घर पनि पुनःनिर्माण गरिएको छ । यस्ता बहुप्रतिभाका धनी नवीनले करिब ४५ वसन्त पार नगर्दै मृत्युवरण गर्नु परेको थियो । उनका साथीसङ्गी रक्सीको अधिक प्रयोगकै कारण नवीनको कम उमेरमै मृत्यु भएको बताउँछन् । नवीनका कृति खोजेर अझै पनि प्रकाशित गर्नुपर्ने इतिहासविद् वैद्यको भनाइ छ ।

डा देवी क्षेत्री दुलाल लेख्छन्, “उहाँ (नवीन) ले जीवनमा पाएको पहिलो र अन्तिम सम्मान तथा पुरस्कार अपमान हो ।” नवीनलाई २०३७ सालमा झापाबाट प्रकाशित विश्वदीप साहित्यिक पत्रिकाको आयोजनामा मेची अञ्चलस्तरीय साहित्य सम्मेलनमा अभिनन्दन गरिएको थियो । विसं २०४४ मा महानन्द पुरस्कारबाट मरणोपरान्त सम्मान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट