समाचार

कालीगण्डकी करिडोर खण्डमा कालोपत्रको काम सुरु

पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम सुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने कार्य आइतबारदेखि प्रारम्भ गरिएको हो ।

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्र हुनेभएको छ । आयोजनाको नियमित कामका लागि सहजीकरण भएमा र आवश्यक निर्माण सामग्रीको अभाव नभएमा ढिलासुस्ती नहुने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।

पर्वतको विहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको ढिकसम्मको खण्डका लागि आवश्यक बहुवर्षीय ठेक्काअन्तर्गत रु एक अर्ब २३ करोड बजेट विनियोजन भएको हो ।

बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागिसमेत अर्थमन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रको काम सुरु हुन लागेको हो । सबै प्रक्रिया पुगेकाले अबको दुई सातापछि सडक कालोपत्रको काम तीव्र गतिमा हुने आयोजना प्रमुख देवकोटाले जानकारी दिए । कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि विहादी र फलेवासका स्थानीयवासीसमेत हर्षित बनेका छन् ।

यसैबीच पर्वतको फलेवास–६ देवीस्थानको ढिकमा आइतबार आयोजित एक कार्यक्रमकाबीच आयोजनाको शिलान्यास गरिएको हो । कालोपत्र कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन् । सो अवसरमा उनले आफूले निर्वाचनअघि गरेका वाचा पूरा हुँदै गएको बताए । उनले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको उल्लेख गर्दै कुनै पनि पालिका र वडामा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । पर्वत जिल्लाको मात्र नभएर राष्ट्रिय महत्वको आयोजना भएकाले समयमै काम सम्पन्न गर्न उनले आयोजनालाई निर्देशनसमेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट