रिबन

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादल नेतृत्वको वार्ता टोली गठन, आजै प्रतिबन्ध फुकुवा गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । आज विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले इटहरीमा आमसभा आयोजना गर्दैछन् । सो आमसभाअघि नै सरकारले प्रतिबन्ध फुकुवाको घोषणा हुन सक्ने स्रोतहरूले बताएका छन् ।

विप्लवसँग वार्त गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन भएको छ । आजै सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् ।

विप्लव समूहले यसअघि नै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको स्रोतले जनाएको छ । सरकार र विप्लव नेकपाका नेताबीच विभिन्न माध्यमबाट वार्ता भइरहेको छ । आइतबार प्रधानमन्त्री केपी ओलीले झापामा विप्लव नेकपासँग वार्ताको तयारी भइरहेको जानकारी दिएका थिए ।

विप्लव निकट पत्रकारले यसबारे सूचना विभिन्न मिडियालाई दिन थालेका छन् । ‘सम्भवतः आजै नेकपामाथिको राजनीतिक प्रतिबन्ध फुकुवाबारे सरकार पक्षले जानकारी गराउने छ,’ ती पत्रकारले संकल्पखबरसँग भने, ‘सरकारले विप्लव नेकपासँग औपचारिक वार्ताका लागि पनि आह्वान गर्नेछ ।’

केही दिनअघि विप्लवले आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग संवाद र बार्ताको लागि सकारात्मक रहेको बताएका थिए । विप्लवले विज्ञप्तिमार्फत क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि संवाद र बार्ताको लागि तयार रहेको बताएका हुन् ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उनले भनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *