बागमती प्रदेश

बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन २६ रोपनी जग्गा

काठमाडौं ।नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकालाई कार्यालय बनाउन केन्द्रीय सरकारले करिव २६ रोपनी जग्गा दिएको छ । फागुन १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बेलकोटगढी वडा नम्बर ८ बाघखोरस्थित नेपाल सरकारको नाममा रहेको २५ रोपनी १२ एक दाम जग्गा नगरपालिकाको नाममा कायम गर्ने गरी निर्णय भएको छ ।

उक्त जग्गामा नगरपालिका कार्यालय प्रयोजनको लागि धेरैवटा भवनहरु बनाउने तयारी भईरहेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए । ‘केन्द्रीय सरकारबाट हामीले करिव २६ रोपनी जग्गा पाएका छौं ।

यसमा नगरपालिकाको कार्यपालिका कार्यालय, सुरक्षा निकायको कार्यालय, कृषि कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, वर्कशप लगायतका भवनहरु बनाउने तयारीमा छौं’ उनले भने–‘यस परियोजनाको डीपीआर बनाउँदैछौं । मेरो कार्यकालमा कम्तिमा ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।’

यी संरचना बनाउने २० देखि २५ करोड रुपैयाँ आवश्यक हुने मेयर खनालको अनुमान छ । उक्त रकम केन्द्रीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट जुटाउन लागेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *