अर्थ

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ विक्री मिति दुई दिन अघि सर्‍यो

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते (शुक्रवार) देखि आईपीओ विक्री खुला गर्ने भएको छ ।

यस अघि फागुन २३ गतेदेखि आईपीओ विक्रीको मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघि नै विक्री खुला गर्ने भएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटलले यस अघि नै आव्हान पत्र सार्वजनिक गरी मिति तय गरेपनि सिडिएससीको निर्देशनमा दोस्रो बजारको कारोबारलाई प्रभाव नपार्ने गरी शुक्रवारदेखि आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री खुला गर्नको लागि उपयुक्त दिन शुक्रवारलाई लिएको छ । हाल दोस्रो बजारमा कारोबार पछिको राफसाफका लागि मेरो शेयर मार्फतनै इडीआईएस गर्नुपर्ने भएकाले कारोबारको पाँच दिन प्राविधिक समस्या आउँन सक्ने भन्दै सिडिएससीले शुक्रवारदेखि सार्वजनिक निष्कासनका लागि अनुरोध गर्दै आएको छ ।

यस अघि महिला लघुवित्तको आईपीओ निष्कासनको मिति पनि सिडिएससीकै कारण परिवर्तन भएको थियो । कम्पनीले रू. ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । यो आईपीओ विक्री गर्न कम्पनीले फागुन ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धकका अनुसार अव कम्पनीको आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हाल प्राथमिक बजारमा १५ लाखभन्दा बढी लगानीकर्ताको आवेदन पर्दै आएकोमा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्ने देखिन्छ ।

उक्त आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व आईपीओ पश्चात कायम हुनेछ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. १० करोड ७८ लाख ७१ हजार खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले रू. ६ करोड ८९ लाख खुद नाफा गरेको थियो ।

७४ हजार ७०३ बीमालेख कायम रहेको कम्पनीले दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ३ करोड १ लाख ४७ हजार दाबी भुक्तानी गरेको छ ।

कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल भदौ १९ गतेदेखि कम्पनीले औपचारिक रुपमा कारोबार सुचारु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *