रिबन

सहरी विकासमन्त्री प्रभु साहकै अगाडि महिलाले मेटासिड खाएर मरिदिन्छु भनेपछि…

‘लाने बेलामा लगिस्, अनेकथोक भनिस्, अहिले दिन्नँ भन्छस्’ ।

शहरी विकास मन्त्री प्रभु साहलाई कर्मचारीकै अगाडि ठुल्ठूलो स्वरमा हप्कीदप्की गर्दै एकजना महिला कराइरहेकी थिइन्, सचिव रमेश सिंहचाहिँ ‘म्याडम प्लिज, मेरो मुख हेरेर चूप लागिदिनुप¥यो’ भन्दै दुई हात जोडेर बिन्ती गर्दै थिए । महिला रुँदै, कराउँदै झोलामा राखेको मेटासिडको बिर्को खोल्न खोज्दै थिइन् । उनका पिए बालकृष्ण ‘हैन, हैन दिदी– यस्तो नगर्नु न’ भन्दै फकाएर बिर्को बन्द गराउँदै थिए ।

सिंहदरबारमा देखिएको यो दृश्य दुई साताअघिको हो । अहिले पनि ती महिला प्रभु साहलाई खोज्दै सिंहदबार जान्छिन्, तर मूल प्र्रवेशद्वारमै उनलाई ‘ब्ल्याकलिस्टेड’ गरिएको छ । चिनेसम्म प्रहरीले छिर्न दिँदैनन् । छिरिहालिन् भने पनि हत्तपत्त मन्त्री फरार हुन्छन् ।

०४८ पछि विजय गच्छेदारलाई सत्ता फापेझैँ ०६३ पछिका एक–दुईबाहेक सबैजसो सरकारमा मन्त्री खाँदै आएका पूर्वमाओवादी नेता प्रभु साह यसचोटि मन्त्री पदमा बहाली भएको दुई–चार दिनदेखि नै यस्तो लफडामा परेका छन् । उनले एकजना अधबैंशे महिलासँग पैसा लिएर नतिरेपछि यस्तो झमेलामा परेका हुन् । केही वर्ष पहिले डा.बाबुराम भट्टराईसँग गंगालाल हस्पिटलपछाडि बाँसबारीमा खिचेको एउटा फोटो भाइरल भएर चर्चामा आएकी उनै दिपा केसी कुँवर हुन्, अहिले प्रभु साहबाट ठगिएकी ।

काठमाडौंको बाँसबारीमा घर भएकी दिपा र प्रभुको पहिला राम्रो सम्बन्ध थियो । ०७४ को स्थानीय निर्वाचनअघि चुनाव खर्चका नाममा प्रभुले दिपासँग ३० लाख रुपैयाँ लिएका थिए, जुन कुराको साक्षी उनका पिए बालकृष्ण पनि हुन् । त्यसबेला प्रभुकी पत्नी रिनाकुमारी रौतहट, मौलापुर नगरपालिकाको मेयरमा उठेकी थिइन्, जितिन् पनि । ऋणका रुपमा उक्त रकम लिएको भए पनि प्रभुले व्याजसमेत तिरेनन् ।

पछि–पछि ताकेता गर्दा आफैँ उठ्नुपर्ने संसदीय चुनाव आयो । चुनावपछि दिन्छु भनेका थिए । तर, दिएनन् । चुनावपछि सोध्दा ‘मन्त्री बनेको एक महिनाभित्र सबै तिर्छु’ भनेका हुन् । तर, उनी मन्त्री नै बनेनन् । ‘जहिले सोधे पनि मन्त्री भएपछि दिन्छु भन्थ्यो’ दिपाले जनआस्थालाई भनिन्, ‘तर, मन्त्री भएपछि तपाईं को हो ? म चिन्दिनँ भनेर पो हप्काउन थाल्यो !’

प्रभुले पैसा लिने बेलामा शर्त राखेका थिए, कि उनको छोरालाई अष्ट्रेलिया पठाइदिने, कि पैसा फिर्ता गर्ने । तर, न छोरालाई अष्ट्रेलिया पठाइदिए, न पैसा फिर्ता गरे । उल्टो व्याजसमेत बेपत्ता । उक्त रकमको कारोबारबारे प्रभुका स्वीकय सचिव र नेकपा नेता झक्कु सुवेदीको सहयोगीका रुपमा रहेका एकजना व्यक्ति पनि साक्षी रहेको दिपाले मन्त्रालयमा रहेका कर्मचारीलाई सुनाउँदै थिइन् ।

दिपा यसरी मेटासिड नै बोकेर मन्त्रालय जानुको दुःख पनि ठूलै रहेछ । धुम्बाराहीस्थित एकजना साथीको घर राष्ट्रिय बाणिज्य बैंक, चावहिल शाखामा धितो राखेर ५० लाख रुपैयाँ कर्जा लिएकी थिइन् । त्यसमध्येको ३० लाख प्रभु साहले नै लगे । २० लाख आफूले चलाइन् । तर, प्रभुले भाकाभित्र पैसा नदिँदा उनले साथीको पैसा तिर्न सकिनन् । साथीको घर लिलामी गर्न बैंकको सूचना निस्किसकेको छ । त्यसपछि आफैँ लागेर भनसुन गर्दै लिलामीको भाका त सारिन्, तर सारेको भाका पनि नाघ्ने बेला भयो । त्यही बेला प्रभु ओली सरकारमा मन्त्री भए । उनी कर्मचारीहरुलाई सुनाउँदै थिइन्, ‘साथीको पैसा तिर्न नसकेपछि मसँग मर्नुबाहेक अर्को उपाय छैन । मर्नु नै परेपछि यही मन्त्रीको अगाडि मेटासिड खाइदिन्छु !’

दिपाले सचिव रमेश सिंहलाई आफ्नो छिमेकीको नाताले पहिल्यै चिनेकी थिइन् । शुरुमा सचिवमार्फत कुरा राखिन् । तर, मन्त्रीले वास्ता गरेनन् । सीधै भेट्न गइन् । मन्त्रीले भेट दिएनन् । बिहान ११ बजे पुगेकी उनले ४ बजे भेट्न पाइन्, त्यो पनि जबरजस्ती ढोका खोलेपछि । मन्त्री निस्किएर हिँड्न लागेका थिए । उनले ढोकामै बबाल गर्न खोजिन् । त्यसपछि भित्र लगेर सानो स्वरमा भने, ‘अहिले मसँग छैन, भए पछि दिन्छु ।’ तर, दिपाले मानिनन् । कराइन् । यो दृश्य देखेर प्रभुलाई भेट्न पुगेका ओलीपक्षीय पर्साका पूर्वसांसद राजकुमार गुप्ताहरु पनि छक्क परे ।

उनी भन्दै थिए, ‘बाले कस्तो मान्छेलाई मन्त्री बनाएछन् !’ उनले यो कुरा प्रधानमन्त्रीसँग भन्नका लागि स्वकीय सचिव इन्द्र भण्डारीलाई भेटिन् । इन्द्रले ‘उहाँ अर्कै पार्टीको मान्छे हो, हामीले भन्न मिल्दैन’ भनेर पठाइदिए । प्रचण्डकी छोरीमार्फत भनाउन खोजिन् । तर, त्यहाँबाट नभनिने जानकारी पाइन् । अस्ति सोमबार सचिवले बोलाएर मन्त्रालय गइन् । त्यसदिन पनि मन्त्रीले हप्कीदप्की गर्नाले रुँदै बाहिरिइन् ।

(आजको जनआस्था पत्रिकामा यो खबर छापिएको छ)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *