रिबन

कांग्रेसले शुक्रबार बोलायो संसदीय दलको बैठक, यस्तो छ एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिनको १ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेस संसदीय दलले जानकारी दिएको छ ।

फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान भएकाले पार्टीको भूमिकाबारे छलफल गर्नुपर्ने भन्दै कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश गरेको छ । जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई जानकारी दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला आज पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन पुगेका छन् ।

पछिल्लो पटक नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेससामु प्रस्ताव राखेको छ । संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा कांग्रेसले निर्देशन दिएको हो । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *