समाचार

आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने

ताप्लेजुङ । दोभान बजारका आगलागी पीडित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरिएको छ । मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सबै क्षेत्रबाट उपलब्ध राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार आगलागी भई क्षति पुगेका घर परिवारलाई आर्थिक सहायता प्रदान गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, दातृ निकाय र व्यक्तिले गाउँपालिका विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले समेत एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा संघसंस्थाले गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँचसम्मको परिवार सङ्ख्या भएकालाई नगद रु १५ हजार र सोभन्दा बढी सङ्ख्या भएका परिवारलाई रु २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए । उनकाअनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

आगलागीपीडितलाई रु पाँच लाख दिइने
गृहमन्त्री रामबहादुर थापाले आगलागी पीडितलाई प्रतिपरिवार रु पाँच लाख दिइने बताएका छन् । गृहमन्त्रालयमा बुधबार ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यविधि संशोधन गरेर हिमाली भेगमा दिइने आवास निर्माणका लागि भूकम्पपीडित तथा बाढीपीडितसरह रु पाँच लाख प्रतिपरिवार दिइने बताए । मन्त्री थापाले आगलागी पीडितका लागि तत्काल प्रतिपरिवार १५ हजार ८० कम्बल र ५० पाल उपलब्ध गराउने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट