अर्थ

सत्य सूचना र तथ्याङ्कले विकासको मार्गचित्र कोर्न सहयोग पुग्नेछ – प्रा डा कँडेल

ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सत्य सूचना र तथ्याङ्कले विकासको मार्गचित्र कोर्न सहयोग पुग्ने बताएका छन् ।

यहाँ आज भएको राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत ‘प्रदेश र जिल्ला जनगणना अधिकारी तथा सहायक जनगणना अधिकारीको तालीम’ कार्यक्रममा उनले तथ्यमा आधारित सूचना सङ्कलन गर्न आवश्यक रहँदा गम्भीरतापूर्ण आआफ्ना जिम्मेवारी बहन गर्न सबैमा आग्रह गरे । प्रा डा कँडेलले हाल मुलुकभर भौतिक पूर्वाधारको सुगमता रहँदा हरेक वडाका साथै स्थानीयस्तरबाट समेत गणकलाई सो काममा सहयोग मिल्ने विश्वास लिइएको बताए ।

आयोगका सदस्य डा रामकुमार फुयाँलले लोककल्याणकारी समाज निर्माणका लागि वास्तविक तथ्याङ्कको अभावमा मुलुकलाई बाधा पर्ने भएकाले कसरी गणकलाई बुझाएर यथार्थ अवस्थालाई बाहिर ल्याउने भन्नेतर्फ जोड दिन सबैमा आग्रह गरे ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जनगणनाले आगामी १० वर्षसम्म नयाँ इतिहास रच्ने भएकाले यसलाई ठूलो अवसरका रुपमा लिई तथ्यमा आधारित तथ्याङ्क खोज्नकका लागि सहजीकरण गर्न सुझाव दिए । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले मुलुककै सर्वाधिक ठूलो जनगणना भएकाले इमान्दारीपूर्वक काममा लाग्न अनुरोध गरे ।

विभागले सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुई चरणमा जनगणना अघि बढाइने छ । पहिलो आउँदो वैशाख २६ देखि जेठ १४ गतेसम्म सुपरिवेक्षकद्वारा प्रत्येक घरपरिवारमा पुगी ‘घर तथा घरपरिवार सूचीकरण फारम’मार्फत घर र घरसम्बन्धित विवरण, परिवार सदस्य सङ्ख्या अनि कृषि सम्बन्धित विवरण, सरकारी अनुदानमा आवासीय घर निर्माण, परिवारका सदस्यको बैंक खाता, प्राविधिक तथा व्यावसायिक सीप, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको विवरण सङ्कलन गरिनेछ भने दोस्रो चरणमा आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकद्वारा प्रत्येक परिवारमा पुगी ‘मुख्य प्रश्नावली फारम’मार्फत घरपरिवार तथा व्यक्तिको जनसाङ्खिक तथा अन्य विवरण सङ्कलन गरिनेछ ।

नेपालमा जनगणना लिने कार्य विसं १९६८ देखि शुरु भएको हो । अब आउँदो नयाँ वर्षमा शुरु गरिने सो जनगणना नेपालको बाह्रौँ तथा देश सङ्घीय संरचना गइसकेपछिको पहिलो जनगणना हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *