रिबन

देउवाले बोलाए पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा छलफलका लागि पार्टीका पदाधिकारी र प्रभावशाली नेताहरूको बैठक बोलाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरिएकाले बैठकमा खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको छ ।

आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने बुझिएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव ल्याउने चर्चा चलेको छ । ओलीलाई हटाएर नयाँ सरकार गठन गर्नुपरे र कांग्रेसलाई नेतृत्व लिइदिन प्रस्ताव आए के गर्ने भन्ने विषयमा छलफल हुने छ ।

बुधबार पार्टी सभापति देउवाले कांग्रेसले प्रधानमन्त्री पद नमागेको तर लिइदिन प्रस्ताव आए पछि नहट्ने अभिव्यक्ति दिएका थिए । पार्टी महामन्त्री डा.शशांक कोइरालाले पनि सरकारमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल भने कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने म्यान्डेट भएकाले सरकारमा जान नहुने अडान राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *