समाचार

ओलीका दुई मन्त्रीको विद्वता, शिक्षामन्त्री दीक्षान्त समारोहमा ‘माइकालाल’ भन्ने, वनमन्त्री रुखलाई हामी अक्सिजन दिन्छौं भन्ने

काठमाडौं । सार्वजनिक सभा समारोहमा प्रधानमन्त्री केपी ओलीका ‘स्ट्यान्डअप कमेडी शो’ बेलाबेलामा नेपाली जनताले देख्दै र सुन्दै आएका हुन् । पार्टी कार्यक्रम होस् कि सरकारी औपचारिक कार्यक्रम होस्, ओलीले त्यहाँ आफ्नो विद्वता प्रदर्शन गरिहाल्छन् ।

अहिले ओलीको त्यही सिको उनका दुई मन्त्रीले गरिरहेका छन् । सार्वजनिक मञ्चमा के बोल्ने के नबोल्ने भन्ने सामान्य ज्ञानसमेत ती मन्त्रीमा देखिएको छैन । उनीहरू हुन्, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र वनमन्त्री प्रेमबहादुर आले ।

केही दिनयता श्रेष्ठ र आलेले सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर नेपालका बुद्धिजीवी वर्गले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले कस्ता मन्त्रीबाट नेपाली जनता शासित भइरहेका छन् भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

केही दिनअघि एक विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि थिए शिक्षामन्त्री श्रेष्ठ । विश्वविद्यालयका सहकुलपति हुने भएकाले उनलाई बोलाउनु आयोजकको बाध्यता नै थियो । तर, उनले दीक्षित विद्यार्थीलाई ज्ञान र सैद्धान्तिक विचार दिनुको सट्टा प्रधानमन्त्री ओलीको चाकडी गरेर हदैसम्मको दास मानसिकता प्रदर्शन गरे ।

कतिसम्म भने उनले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो’, ‘जसरी बुझ्नु हुन्छ बुझ्नुस्’, ‘कोही माइकालाल जन्मेको छ, कठालामा समातेर सडकमा ल्याउने ?’ ‘राजीनामा दे भन्नेहरूले बनाएको प्राइममिनिस्टर हो ?’, ‘अदालतको फैसलाले ‘आइएम हेयर द एजुकेसन मिनिस्टर’ जस्ता निम्नस्तरका भाषण गरेर दरिद्र विद्वत प्रदर्शन गरेका छन् ।

उनले सो दीक्षान्त समारोहमा गरेका भाषणको भिडियो अहिले सामाजिक सञ्जाल, युट्युबमा भाइरल बनेको छ । जसले नेपालले कस्तो शिक्षामन्त्री बनाएछ भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत भएको छ ।

अर्का मन्त्री हुन् प्रेमबहादुर आले । डोटीबाट निर्वाचित आले वन तस्करीमा जोडिएका विवादास्पद व्यक्ति हुन् । तर, तिनै आलेलाई ओलीले वन मन्त्रालय सुम्पिदिए । मन्त्री बन्नेवित्तिकै उनले भने– अब ओली सरकार सात गियरमा दौडिन्छ र समुद्रमा पुग्छ ।

यतिबेला भने उनी दुइटा अभिव्यक्तिका कारण विवादमा परेका छन् । एउटा, वन तस्करले आफूलाई एक अर्ब रुपैयाँसम्मको अफर गरेको र त्यो आफूले अस्वीकार गरेको भनेर सार्वजनिक गरेका छन् । अर्थात् उनी वन तस्करसँग अझै बढी बार्गेनिङ गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ ।
यस्तै, उनलाई आफूले के बोले भन्नेसमेत हेक्का हुँदैन ।

हालै आयोजित एक कार्यक्रममा उनले भने– ‘यो जनताको सरकार हो र यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने तपाईहरूले सोच्नु भएको छ भने त्यो ठूलो भूल हुनेछ’ भने । यस्तै, रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौं, त्यही रुख यदि भएन भने हामी कसरी बाँच्छौं भनेर आफ्नो ज्ञानको प्रदर्शन गरेका छन् । रुखले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड दिन्छ भन्ने सामान्य चेतसमेत मन्त्री आलेमा देखिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *