
काठमाडौं । सहीद समारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री भगवती क्लब टोखा विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
भगवतीको जितमा नवराज गुरुङ र मोहन बहादुर थापाले एक–एक गोल गरे भने एक गोल उपहार पाएको थियो । झम्सिखेलका मदन स्याङ्तान र अनिश चौधरीले गोल फर्काए ।
पहिलो हाफको ११औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीको आत्मघाती गोलबाट भगवतीले अग्रता लिएको थियो ।
यस्तै, खेलको ३२औँ मिनेटमा झम्सिखेलका मदनले गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । पहिलो हाफ एक–एक गोलको बराबरी खेलेको थियो ।
दोस्रो हाफको ५६औँ मिनेटमा नवराजले गोल गर्दै भगवतीलाई पुनः अग्रता दिलाए । ७०औँ मिनेटमा अनिशले गोल गर्दै झम्सिखेललाई २–२ गोलको बराबरीमा ल्याए ।
खेल सकिन ६ मिनेट बाँकी रहँदा मोहनले गोल गर्दै भगवतीलाई महत्वपूर्ण जित दिलाए ।
जितसँगै भगवती आठौँ स्थानमा उक्लिएको छ । उसको ९ खेलबाट ९ अंक रहेको छ भने झम्सिखेलको ९ खेलबाट ६ अंक जोड्दै तालिकाको ११औँ स्थानमा रहेको छ ।