
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते संसदीय दलको बैठक आह्वान गरेका छन् । बैठकमा सहभागीका लागि पार्टीका १ सय ७३ जना सांसदलाई एसएमएसमार्फत् खबर पठाइएको छ ।
एसएमएसमार्फत् नै यो खबर अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि गराइएको ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिए ।
‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ भट्टराईले पठाएको एसएसएसमा भनिएको छ ।