रिबन

सांसदको धारणा बुझेपछि कांग्रेसले निर्णय लिने

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले साझा धारणा बनाउन सकेन । संसदीय दलको बैठक बस्नु एक दिनअघि पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा डाकेको पदाधिकारी बैठक कुनै ठोस निर्णयमा पुग्न सकेन ।

अहिलेको तरल राजनीतिक अवस्थामा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत देखिएको छ । सभापति देउवा र महामन्त्री शसांक कोइरालालगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरी परिवर्तित अवस्थाको उपयोग गर्ने रणनीति तय गरेका छन् भने पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्षबाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने मत अघि सारेका छन् ।

पदाधिकारी बैठकको अनिर्णयसँग कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए ।

उनले भने, ‘बैठकमा साझा धारणा बनाउने र ठिक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठीक निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौं । तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरुको धारणाका साथ गर्छौं । अविश्वासको प्रस्तावको रुपमा जान्छौं कि अगुवाई नै गरेर जान्छौं भन्ने कुरा।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *