प्रदेश नं. १

ग्यारेजले बदलेको जीवन

विराटनगर । मोटरसाइकल ग्यारेज सञ्चालन गरेर मनग्य धन आर्जन गर्ने विराटनगरमा प्रशस्त देखिन थालेका छन्।

ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने र चाररपाँच महिना तालिम लिइसकेपछि ग्यारेज सञ्चालन गर्न कुनै समस्या नभएको यस काममा लाग्नेको भनाइ छ।

सुरूमा प्रशिक्षार्थीलाई बिना पारिश्रमिक काममा लगाउने र काम सिकिसकेपछि पारिश्रमिक पनि दिने गरेको विराटनगरको रोडशेष चोकमा सञ्चालित युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसनेले जानकारी दिए।

उनले भने, ‘विगतमा साझेदारीमा काम गर्दा व्यवसाय राम्रै चले पनि पैसा हातमा हुँदैन्थ्यो तर अहिले आफैंले सञ्चालन गरेको ग्यारेजमा एक दर्जन प्रशिक्षार्थी छन्, थोरैलाई पारिश्रमिक दिन्छु, अन्यलाई काम सिकाउँछु’। उनले बजाजको शोरूममा काम गर्थे।

काम सिक्नका लागि तनवीरलाई कम्पनीले कोलकता पठायो। त्यहाँबाट उनले काममा दक्षता हासिल गरेर कम्पनीमै काम सुरू गरे तर कामअनुसारको दाम नदिएपछि, कम्पनी छाडेर आफ्नै ग्यारेज खोले।

विदेशको तातो घाममा काम गर्नुको सट्टा स्वदेशमा नै काम गर्नाले मनग्य आम्दानी गर्नुका साथै घर निर्माण गरी परिवारका सदस्यलाई उचित पालनपोषण र छोराछोरीलाई स्तरीय शिक्षा प्रदान गर्न सकिने विराटनगरस्थित मोटरसाइकल मर्मत केन्द्रका अरू सञ्चालकको भनाइ छ।

उनीहरूका अनुसार काम कुनै पनि ठूलो, सानो हुँदैन र यसलाई जीवनमा उतार्न सक्नुपर्‍यो अनिमात्र त्यसबाट लाभ लिन सकिने ग्यारेज सञ्चालकको भनाइ छ।

केही औजार र सटर भाडामा लिई सञ्चालन हुने यो व्यवसायमा लाग्नेको सबै सामान मोटर पार्टस् पसलेले उपलब्ध गराउँछ। यस्ता पार्टसबाट पनि उनीहरूले राम्रै कमिसन पाउने गरेको विराटनगर भट्टीचोकस्थितका कमल मोटरपार्टस् सञ्चालकले जानकारी दिए।

ग्यारेजवालाले एक महिनासम्म उधारोमा सामान लैजान्छ र पछि एकमुष्ट पैसा बुझाउन आउँदा कमिसन पनि पाउने गरेको बताइएको छ।

विराटनगर महानगरपालिका-११ बसपार्क छेउमा मोटरसाइकल र स्कुटर मर्मत केन्द्रका नवीन पौदार भन्छन्, ‘बिहानदेखि बेलुकासम्म काम गर्दा कम्तिमा पाँच हजार रुपैयाँ दैनिक कमाउँछु। यसबाट मेरो परिवार राम्रोसँग चलेको छ।’

उनले विदेशमा लाखौं खर्च गरेर तातो घाममा काम गर्नुका सट्टा स्वदेशमै यस्ता व्यवसाय गरेर आम्दानी पनि हुने र ऋण पनि नलाग्ने उनको भनाइ छ।

उनले विगतमा आफूलाई पनि यो सीपबारे केही जानकारी थिएन, पछि मैले एउटा ग्यारेजमा निःशुल्क काम गरेर र सीप सिकेर यो ग्यारेज खोल्दा म पनि मालिक भएको छु र अन्य युवालाई पनि यो सीप सिक्न हौसला प्रदान गरिरहेको जानकारी दिए।

यो व्यवसायमा कहिले पनि घाटा हुँदैन, सधैं नै आम्दानी यो व्यवसाय पछिल्लो समयमा निकै चल्नुको कारण मोटरसाइकल चढ्ने सौखिन एवं उपभोक्ता बढ्नु नै भएको पोदारको भनाइ छ।

आफ्नो दक्षतासँगै ग्यारेज खोल्दा यसमा निकै रमाइलो भइरहेको उनको अनुभव छ।

पोदारका अनुसार इञ्जिन खोल्दा मात्र गहिरिएर काम गर्नुपर्ने नभए सामान्य ढङ्गले यो पेशा चलेको छ।

इञ्जिन खोल्दा मोटरसाइकलअनुसार रु पाँच हजारदेखि १५ हजारसम्म खर्च हुने र सामान्य सर्भिस गर्दा रु ५०० मात्र लिन गरेको मेकानिक पोदारको भनाइ छ।

विराटनगरमै लगभग १०० जति ग्यारेज छन्। सबै उत्तिकै चलेका छन्। कोही पनि हात बाँधेर बस्नुपर्ने अवस्था छैन। धेरै वर्ष पहिले मोटरसाइकलवालाले इञ्जिन बनाउन भारत विहारको फरबीसगञ्ज जान्थे तर अहिले हाम्रै देशमा प्रशस्त ग्यारेज भएकाले कसैले पनि देश बाहिर गएर मोटरसाइकल बनाउनुपर्ने अवस्था छैन। सीप सिकेर काम गरेमा कसैले पनि भोकै बस्नु नपर्ने ग्यारेजवाला विराटनगरका लागि उदाहरण बनेका छन्।

यस्तै, वडा नं १२ मा शर्मा रिपेयरिङ सेन्टर सञ्चालक विवेक शर्माले पाँच लाख खर्च गरेर ग्यारेज सञ्चालन गरेका छन्।

‘यो व्यवसायमा कहिले पनि फुर्सद हुँदैन र आम्दानी पनि राम्रै हुने गरेको छ’, उनले भने।

शर्माले आफ्नो ग्यारेजमा अन्य दुईलाई समेत रोजगार दिँदै आएका छन्।

यो व्यवसायमा पुरूष मात्र देखिएका छन्, महिला त्यति देखिएका छैनन्। महिला पनि यो सीप सिकेर काम गर्यो भने सुनमा सुगन्ध हुने विवेक शर्माको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट