सम-सामयिक

विप्लव समूहसँग भएका हतियार अब के हुन्छन ?


काठमाडौं । सरकारले विप्लव समूहसँग गरेको सहमतिलाई चौतर्फी स्वागत गरिएको छ । सो स्वागतसँगै एउटा गम्भीर प्रश्न उठेको छ । सो समूहले यतिन्जेल प्रयोग गरेका हतियार लडाकुको बारेमा सहमति पत्र मौन भएपछि अब त्यसको अवस्था के होला भनेर प्रश्न उठेको हो । २०७५ फागुन २४ गते पृथकतावादी आन्दोलनलाई तीव्रता दिन कस्सिएका सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन जहाँ सरकार र उनीबिच सम्झौता भएको थियो, २०७७ फागुन २० मा त्यही सभा हलमा सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबिच उस्तै प्रकृतिको सहमति भयो । त्यतिबेला राउत समूहको हतियार र लडाकुबारे केही खोजिएन अहिले विप्लव समूहका लडाकु र हतियार बारे पनि खोजिएन ।

त्यो बेला केपी शर्मा ओली प्रधानमन्त्रीकै हैसियतमा थिए । उनले हात मिलाएर राउतलाई पृथकतावादी अभियान त्यागेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा सक्रिय हुने कसम खुवाएका थिए । त्यतिबेला पछाडिको ब्यानरमा राजनीतिक सहमति घोषणा कार्यक्रम लेखिएको थियो । मञ्चमा दाहिनेतिर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल थिए भने देब्रेतिर राउत बसेका थिए । यी तीनै जनाको कुर्सीको पोजिसन लगभग उस्तै थियो । अगाडि राखिएको टेबल उस्तै थियो । अनि एकै लहरमा बसेका तीनै जनाका लागि व्यवस्था गरिएको कुर्सी पनि उही थियो । प्रधानमन्त्री ओली उस्तै हैसियतको सम्मान दिएर राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए । सोही दिनको कार्यक्रमपछि राउत नयाँ पार्टी घोषणा गरेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा सक्रिय छन् ।

तर शुक्रवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द सार्वजनिक हुने र सरकार र उनीबिचको वार्ता समितिबीच भएको सहमति पत्रमा सार्वजनिक मञ्चमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमको भने प्रधानमन्त्री ओलीले विप्लव समूहको प्रशंसा गरेर दाहाल नेपाल समूहलाई गाली गर्न भ्याएका थिए । विप्लवसहितका अन्य नेताहरूका लागि पहिलो लहरमा राखिएको कुर्सी समान प्रकारका थिए । प्रधानमन्त्री ओलीका लागि मञ्चको बिचमा राखिएको कुर्सी विप्लवसहित अन्य नेताहरू बसेको भन्दा फरक र अलि भव्य नै थियो । विप्लव खजमजिएको कालो कोट र कालै पाइन्टमा कार्यक्रममा उपस्थित भएका थिए । उनले सर्टभित्र लगाएको टिसर्ट घाँटीको कुनाबाट च्याइरहेको थियो । प्रकाण्ड कालो कोट र खैरो पाइन्टमा थिए । उनले भित्र स्विटर समेत लगाएका थिए । अर्का दिनेशले खैरो सर्ट र पाइन्टसँगै चेक सर्ट लगाएका थिए । तीन नेताको पोसाक तीन थरी थियो ।

सरकारी टोलीतर्फ प्रधानमन्त्री ओली भव्य पोसाकमा कार्यक्रममा उपस्थित थिए दौरा सुरुवालसहित । कालो टोपी, निलो कोट अनि मफलरसहित आएका थिए प्रधानमन्त्री ओली । ईश्वर पोखरले र सुवास नेम्वाङ दौरा सुरुवालका साथ आएका थिए भने सरकारी वार्ता टोलीका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल कोट र पेन्टमा थिए। उनले सेतो सर्ट लगाएका थिए । उनीहरुले लगाएको पोशाकको कुरा गर्ने हो भने सबैका फरक फरक भएपनि सहमतिमा भने समान उदेश्य रहेका थिए । उदेश्य समान रहेको र विप्लवलाई शान्तिपूर्ण मार्गमा ल्याएका ओलीले उनीहरुको हतियारबारे किन चासो दिएनन त्यो बारेमा भने कही कतै उल्लेख गरिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *