कला/साहित्य

रात

गोधूलि साँझले घर–आँगनभरि
सायद सन्देश बोक्छ मिलनको
आगो जोड्न थाल्छ चुलो र अँगेनो
छरपस्ट जहान गुँड खोज्दै फिर्छ बासस्थानमा
र बिछ्यौना खुसाउँछ सहृदयीको आगमनमा
समयको सौगात कोल्टिंदै भित्रिन्छ
रात उचालेर हरेकलाई सुम्सुम्याउन
प्रेम गङ्गामा डुबुल्की मार्छ समयसूत्र
पौडिन्छ सुखद क्षण र शुभ मुहूर्त
चकमन्नताभित्रै पोखिन्छन् घुरेका आबाज यत्रतत्र ।
किन हो, मुस्कुराउँछ जून एक्लै टहटह
छिप्ंिपदो रातसहितको मौनताबीच
तर रोइरहन्छन् पिलपिलाएर
ती मध्य आकाशका चम्किला तारापुञ्ज भने
आफू आफूमा गर्दै मुखामुख ।
सिरक ओडाएर रुँगालो निस्पट्ट रात
बालक ठानेर थपथपाउँछ हरेक हरेकका पिठ्युँलाई
उल्लुको सोर र जुनकिरीको प्रकाश पोखेर
चिर्दै गर्छ रातको अन्धतालाई
सुस्तरी निदाउँछन् चोक र चौतारीहरू
तर निदाउन्नन् धड्कन, समय र पानीका प्रबेगहरू
मुक्ति खोज्छ एउटा गाउँ सहर र प्रहरले
एकलास्ट, एकान्त र किरिङमिरिङ अस्पष्टतामाथि
नियोजित झुल्कोसँगै सुरु हुन्छ प्रश्नसूचक (?)
र अर्को वियोगान्त बन्छ कथा नयाँ दिनको
पुनर्कथा दोहोरिन्छ रातपछिको
लालिमाले ढक्ढक्याउँछ ढोका
फतफताउँछ प्राणी जगत्
तरङ्गित हुन्छ एउटा स्वप्निल कायाकैरन
उघ्रिन्छ नयाँ दिन कलरव र कोलाहलसहित
प्रत्येक रात बिसाउँछ विश्राम उसरी नै उसरी नै …………… ।
० ० ०

पदम दाहाल, मादी न पा ६,
सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *