राजनीति

ओली समूहको संसदीय दलको बैठक सम्पन्न, बहुमत आफूहरुसँग रहेको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् ।

बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित भएका थिएनन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरेका छन् ।

राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको बताउँदै उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुनेसमेत बताए ।

भट्टराईका अनुसार बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताए । भट्टराईले भने, ‘हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा छौँ ।’ उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए पनि पास नहुने र कसैले त्यस्तो हिम्मत नगर्ने दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठकमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।

केपी शर्मा ओलीलाई हटारए सो समूहले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । प्रचण्ड–माधव समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *