रिबन

दलको नेताको हैसियतमा प्रचण्डलाई बोल्न दिइए ओली पक्षले प्रतिनिधिसभा सुरुमै अवरुद्ध पार्ने

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि पहिलोपल्ट आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्दैछ ।

संसद् सचिवालयले आजका लागि बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिसकेको छ । तर, संसद् सुरु भएलगत्तै प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता हुने हो कि भन्ने भय र त्रास नेकपा ओली समूहमा देखिएको छ । त्यसैले ओली समूहले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने गरी भित्री तयारी थालेको स्रोतले बताएको छ ।

ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको ठहर गरेको छ । सभामुख संविधान र कानूनबमोजिम नचले सदन चल्न नदिने अवस्था आउन सक्ने ओली पक्षले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति नेकपा संसदीय दलका पदाधिकारीहरुसहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड–माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे र प्रचण्डलाई संसदीय दलको हैसियतमा सम्बोधन गर्न दिइए प्रतिवाद गर्ने ओली पक्षको तयारी छ ।

नेकपा कानूनी रुपमा विभाजन नभएको र संसदीय दलको नेता वैधानिक रुपमा केपी ओली नै रहेकाले प्रचण्ड–माधव पक्षले दुईपटक राजनीतिक निर्णयबाट प्रचण्ड नेता चयन भए पनि त्यसलाई सचिवालयले कानूनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ती गरे, आफ्नो पक्ष पनि जबर्जस्तीमै उत्रिने चेतावनी दिएको छ ।

सचिवालयले नेकपाको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिइसकेको छ । तर सभामुखले भट्टराईलाई भेट्न मानेका छैनन् । आज संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्छ । अहिलेसम्म भट्टराई र सचेतक शान्ता चौधरीसहित ओली पक्षका सांसदहरुलाई खबर आएको छैन ।

नेकपा विवादको असर कार्यव्यवस्था परामर्श समितिबाटै शुरु हुने देखिएको छ । कार्यव्यवस्थाको बैठक बस्ने कि नबस्ने भन्नेमै सभामुख परामर्शमा रहेको निकट स्रोतले जनाएको छ । परामर्शको बैठक नबसी सीधै संसद सुरु गर्ने कि भन्ने कोणबाट पनि छलफल चलिरहेको छ ।
यसैबीच, अजै प्रचण्ड र माधवकुमार नेपालले सभामुख सापकोटालाई भेटेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *