रिबन

हेर्दाहेर्दै दुई तिहाइ बहुमतको धाक लगाउने कम्युनिस्ट दलविहीन

काठमाडौं । तीन वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रको चुरीफुरी कम्ता थिएन । कांग्रेस नेतृत्वको सरकारमा रहेकै बेला एमालेसँग वाम एकता गरेर पुष्पकमल दाहाल प्रचण्ड केपी ओलीसँग घाँघी जोड्न गएका थिए ।

ओलीमा बहुमतको उन्माद चुलीमै थियो । आफ्नै लोकप्रियताका कारण एमालेले झन्डै सुविधाजनक बहुमत ल्याएको उनको दाबी थियो । त्यही भएर उनले प्रचण्डलाई ६०–४० को आधारमा भागबन्डा गरेर सरकारको नेतृत्व लिए । माओवादी केन्द्र पनि मिलेपछि नेपाल कम्युनिस्ट पार्टीको सरकार झन्डै दुई तिहाइको बहुमत नजिक पुग्यो । त्यसपछि त ओलीले कांग्रेसलगायतका विपक्षीमाथि प्रहार गर्न थाले । कांग्रेसलाई त अब ५० वर्षसम्म सत्तामा नफर्किने, शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्रीसमेत भन्न भ्याए ।

तर, अहिले स्थिति निकै फेरिएको छ । दुई तिहाइ भनेका ओली र प्रचण्ड नै पार्टीविहीन बनेका छन् । आइतबार सर्वोच्च अदालतको आदेशले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता वैधानिकता नै खारेज गरिदिएको छ । निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र पार्टी अर्कैले दर्ता गरिसकेकाले २०७५ जेठ ३ गतेकै अवस्थामा राजनीति फर्किएको छ । तर, ओलीले नेकपा एमालेको बैठक बोलाउँछु भनेर घोषणा गरेका छन् । त्यो तत्काल सम्भव छ जस्तो लाग्दैन ।

फेरि पनि निर्वाचन आयोगले अर्को निर्णय गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ओली र प्रचण्ड मिलेर एकता सुरुदेखि नै गर्न नयाँ नाम राखेर आउनुपर्ने बताइसकेका छन् । यसले पनि ओलीलाई एमाले गठन गर्न त्यति सजिलो छैन ।

माधव नेपाल पक्षका करिब ३८ जना सांसदलाई कसरी आफ्नो पक्षमा ल्याउने भन्ने ओलीलाई निकै सकस छ । माओवादी केन्द्रलाई अघि बढाउन प्रचण्डलाई पनि भने जस्ता सजिलो छैन । रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायतका सांसद ओलीसँग छन् । केन्द्रीय सदस्य पनि धेरै नै छन् । त्यसैले कुनै एक विन्दुमा ओली, प्रचण्ड र माधव नेपाल नआई सुखै छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *