
काठमाडौं । प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतको आइतबारको फैसलापछि निकै खुसी देखिएका छन् । उनका समर्थकले त अदालतको फैसलापछि दीपावली नै गरेका छन् अब नेकपा एमाले ब्युँतियो भनेर ।
हाल ओली पक्षीय नेताहरूले आफूलाई एमालेको नेता र पदाधिकारी भनेर प्रचार गरिसकेका छन् । उनीहरू सबैको एउटै उद्देश्य भनेको सूर्य चिन्ह जसरी पनि आफ्नो पक्षमा पार्नु हो । ओलीलाई जसरी हिजो माओवादी केन्द्रसँग मिलेर प्रधानमन्त्री बन्नु एक मात्र उद्देश्य थियो, उनका नेता कार्यकर्तालाई सूर्य चुनाव चिन्ह कतै गुमिहाल्ला कि भन्ने डर थियो । सर्वोच्च अदालतको फैसलाले के खोज्छस् आँखो जस्तै भइदिएको छ ।
तर, एमालेको ठूलो हिस्सा माधव नेपाल–प्रचण्डतिर भएकाले एउटा सानो हिस्सा लिएर केपी ओलीले एमाले ब्यूताउलान् भन्ने चासो पनि देखिएको छ । आइतबार राति बालुवाटारमा आफूपक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिए एमालेको बैठक बोलाउने र विश्वासको मत लिने घोषणा गरे ।
तर, ओली अहिले पनि नेकपाकै तर्फबाट प्रधानमन्त्री हुन् । सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले ओली नेकपाको अध्यक्ष भएको स्पष्ट पारिसकेको छ । त्यसैले उनलाई एमाले गठन गर्न कानुनी जटिलता पनि देखिएको छ । यदि ओली नेकपाका प्रधानमन्त्री होइनन् भने उनी कुन दलबाट प्रधानमन्त्री बनेका हुन् भनेर सर्वोच्चमा फेरि रिट निवेदन पर्न सक्छ । अहिलेसम्म राष्ट्रपति कार्यालयले समेत ओलीलाई कामचलाउ प्रधानमन्त्री भनेर नतोक्नुमा पनि ठूलै खेल देखिएको सबैले अनुमान गरेका छन् ।