रिबन

सर्वोच्चको फैसला राजनीतिक भन्दै प्रचण्ड–माधव समूह पुरावलोकनमा जाने, आज दिउँसो औपचारिक निर्णय गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले आइतबार नेकपासम्बन्धी सुनाएको फैसला राजनीतिक भएको निष्कर्ष निकाल्दै प्रचण्ड–माधव पक्ष पुनरावलोकनमा जाने भएको छ । त्यसका लागि आज दिउँसो औपचारिक निर्णय गर्ने भएको छ ।

प्रचण्ड–माधव समूहले बिहान स्थायी कमिटी बैठक बोलाएको थियो । तर, कानुन व्यवसायीसँग छलफल गर्नुपर्ने भएको भन्दै स्थायी कमिटी बैठक पछि सारिएको छ ।

आइतबार सर्वोच्चको फैसला आउना साथ कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो। कानुन व्यवसायीसँग छलफल गरेपछि यो पक्षले सोमबार दिउँसो ३ बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

नेकपा एमाले पृष्ठभूमिका नेता घनश्याम भुसालले सर्वोच्चको निर्णय राजनीतिक भएको र त्यसले आफूहरुलाई न्याय नगरेका कारण फैसला पुनरावलोकन गर्न आवश्यक भएको बताएका छन्। ‘सर्वोच्चको निर्णय राजनीतिक हो भन्ने स्पष्ट भइसकेको छ। पुनरावलोकनमा हामी जान्छौँ। तर त्यो भन्दा पहिला सबै साथीहरुको राय लिन आवश्यक छ,’ उनले भने ।

तत्कालीन माओवादी केन्द्रले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि सो समर्थन फिर्ता लिने अवस्था सिर्जना भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एमालेसँग पार्टी एकताको पहलकर्तामध्येका एक जनार्दन शर्माले सरकारको समर्थन फिर्ता लिने भनाए सार्वजनिक गरेका हुन् ।तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता नहुँदै ओली प्रधानमन्त्री बनेका थिए । संयुक्त गठबन्धन बनाएर चुनाव लडेकाले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । सर्वोच्चको आइतबारको फैसलाले नेपालको राजनीति तीन वर्षअघिकै अवस्थामा फर्काइदिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *