राजनीति

एमालेभित्रै रहेर संघर्ष गर्ने नेपाल समूहको निष्कर्ष

काठमाडौं । हिजो आइतबार सर्वोच्च अदालतबाट नेकपा नामको विवादबारे निर्णय आएसँगै माधवकुमार नेपालको राजनीतिक भविष्य के हुने भन्ने विषयमा बहस भइरहेको छ । प्रचण्डसँग लागेर माधव नेपालको राजनीतिक भविष्य सकियो भन्नेहरु धेरै निस्के, तर नेपाल समूहका स्थायी कमिटी सदस्य र सांसदले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने निष्कर्ष निकाले ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्ष नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छन् । नेपाल पक्षमा झन्डै ३७ जना सांसद छन् ।

नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरको एक होटलमा भएको छलफलमा ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको’ एक नेताले बताए।

अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो। जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो।’

राजनीतिक संकट आएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न सोमबार बानेश्वरमा भएको भेलामा नेपाल पक्षका १३ जना स्थायी समिति सदस्य सहभागी थिए।

बानेश्वर भेलामा एमालेमै रहने निष्कर्ष निकालेर नेपाल समूह प्रचण्ड पक्षसँग छलफल गर्न पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठकमा सहभागी भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *