प्रदेश नं. १

व्यवस्थित बनाइदै त्रिधार्मिक धाम हलेसी

खोटाङ । प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका लागि हलेसी तुुवाचुुङ नगरपालिकाले तयारी थालेको हो ।


मञ्जुश्री गुफा आसपासका डाँडामा यत्रतत्र टाँगिने लुङ्दारले हलेसी क्षेत्रको सौन्दर्य तथा वातावरणीयरुपमा समेत प्रभाव पार्ने भएकाले व्यवस्थापनको आवश्यक्ता रहेको नगरप्रमुख इवन राईले बताए। “मञ्जुश्री गुफा आसपास १५० रोपनी क्षेत्रफलमा फैलिएका डाँडामा हाल वर्षौंदेखिका लुङ्दर यत्रतत्र छन्”, उनले भने, “लुङ्दरलाई आकर्षित तथा व्यवस्थित गर्न लुुङ्दर टाँग्ने प्रत्येक व्यक्तिबाट निश्चित रकम लिने व्यवस्था गर्न कार्यविधि निर्माण गर्ने तयारी गरिएको छ ।”    

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल मानिने त्रिधार्मिक धाम हलेसी क्षेत्रमा यसअघिसम्म लुङ्दर निःशुल्क टाँग्ने व्यवस्था थियो । एउटा डोरीमा टाँगेबापत रु १०० लिइने तयारी गरिएको नगरपालिकाले जनाएको छ । लुङ्दर टाँग्दा ठाउँ उपलब्ध गराएबापत शुल्क लिँदा वार्षिक रु दुई करोडभन्दा बढी रकम सङ्कलन गर्न सकिने जनाइएको छ । नगरपालिकाले टाँग्ने ठाउँका साथै पिलरसमेत व्यवस्था गरिदिने तयारी गरेको जनाइएको छ ।    

यसैबीच, त्रिधार्मिक धाम हलेसीमा ६० फिट अग्लो पद्मसम्भवको प्रतिमा स्थापना गर्ने तयारीसमेत गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासङ्घको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा राख्नेगरी दुई पक्षीय सम्झौता भएको हो । नगरपालिकाले तयार पारेको हलेसी बृहत्तर गुरुयोजनामा परिकल्पना गरिएको पद्मसम्भव उद्यान (पार्क)मा प्रतिमा राख्न नगरप्रमुख राई र नेपाल बौद्ध महासङ्घका अध्यक्ष आचार्य नुर्बु शेर्पाबीचमा १९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ध्वजापताका क्षेत्र, स्वागतद्वार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैँचा, मञ्जुश्री क्षेत्रभन्दामाथि डाँडामा गुम्बा, सरोवर निर्माण, पदमार्गलगायतका संरचना निर्माण गरिने दुई पक्षीय सम्झौतापत्रमा उल्लेख गरिएको छ ।    

पार्कमा बढीमा पाँच वर्षभित्र पद्मसम्भवको मूर्ति राख्ने गरी सम्झौता गरिएको नगरप्रमुख राईले बताए । “हलेसी बृहत्तर गुरुयोजनाअनुसार पद्मसम्भव पार्कमा करीब रु पाँच करोडको खर्चमा प्रतिमा राख्ने काम पूरा गरिने छ”, उनले भने “पद्मसभवको प्रतिमा स्थापना गर्न नगरपालिकाले स्थान उपलब्ध गराउने र छ महिनाभित्र प्रतिमा राख्ने स्थानसम्म सडक र विद्युत् व्यवस्था गरिनेछ ।”    

हलेसी बृहत्तर गुरुयोजनाले तयार पारेको अवधारणाअनुसार सम्झौता भएको तीन महिनाभित्र पद्मसम्भव पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी दोस्रो पक्षलाई उपलब्ध गराउने, दोस्रो पक्षले डिपिआरअनुसार पद्मसम्भवको प्रतिमाको नक्सा तयार गरी स्थापना गर्नुपर्ने सम्झौता भएको छ । बौद्ध साहित्यमा आचार्य गुरु पद्मसम्भवले हलेसीमा अमरत्व प्राप्त गरेको उल्लेख छ ।    

प्रतिमा स्थापनापछि धेरै पर्यटकलाई हलेसीमा भित्र्याउन सकिने बौद्ध महासङ्घका अध्यक्ष शेर्पाको दाबी छ । बौद्ध धर्मावलम्बीले पद्मसम्भवलाई दोस्रो बुद्धका रुपमा पुज्ने गरेका छन् । हलेसीको चौतर्फी विकास गर्न हलेसी विकास समितिसमेत सक्रिय भएर लागेको पाइएको छ । हलेसीमा पछिल्लो समय दर्शनार्थी तथा भक्तजनको भीड लाग्न थालेपछि विकास समितिको पहलमा होमस्टे (घरबास) स्थापना गर्नेसम्मको कामसमेत तीव्रगतिमा भइरहेको छ ।    

नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिक–७ महादेवस्थानमा तीनवटा घरबास सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । महादेवस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत सँस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।    

तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालनसम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हलेसी विकास समितिका अध्यक्ष टङ्क राईले बताएका छन । “होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरताको बाटोमा डोहोरयाउने अपेक्षा गरिएको छ”, उनले भने, “हिन्दू तथा किराँत संस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटल तथा लजमा बस्ने पाहुनालाई समेत सांस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गर्ने तयारी गरिएको छ ।”    

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देश भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिका, थाइल्याण्डलगायतबाट भक्तजन एवं दर्शनार्थी आउने गरेका छन् । धार्मिकरुपले मात्र नभई प्राकृतिकरुपमै विश्व प्रसिद्ध हलेसीमा चैत महिनामा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्री मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *