समाचार

घाँस काट्न हिँडेका महोत्तरीका सात बालिकालाई कसले लग्यो भारतको सीतामढी ?

काठमाडौैं । घाँस काट्न भनेर मंगलबार घरबाट निस्केका महोत्तरी भंगहा– ८ धरमपुरका सात बालिका भारत सीतामढीमा फेला परेका छन् ।
स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए । उनीहरू सीतामढीको रेल्वे स्टेसनमा भेटिएको र नेपाल ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भंगहा नगर प्रमुख संजिव साहले सबैलाई सीतामढीबाट घर ल्याउन लागिएको जानकारी दिएका छन् । अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साहसहितको टोली धर्मपुर बस्ती पुगेका छन् ।

अस्मिता पासवान उच्च मावि भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै, रिया र ज्योति कक्षा ८ मा, सीमा र नगिना कक्षा ७ मा, अर्चना र रञ्जना कक्षा ५ मा अध्ययनरत रहेको बताइएको छ ।

एकैचोटि सातजना बालिका र किशोरीलाई भारत लैजान गिरोह नै सक्रिय भएको हो कि उनीहरू आफैं घुम्न निस्केको हो भन्ने अनुसन्धान सुरु भएको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *