कला/साहित्य

रातो सूर्य

आमाको भ्रूणबाट पैदा भएको
भर्खर पखालिएको
रोदन बिसाएको
एक शान्त, क्लान्त र स्निग्ध शिशुजस्तै
खगोलीय ब्रह्माण्डमा
हुरुक्क बल्न आँटेको कलिलो
गोलाकार आगोको फिलुङ्गोजस्तै
एकलास्टमा रातो सूर्य
ऊ… पर…सुदूर पुर्वको क्षितिजमा
लाग्छ आकाशसँगै टाँसिएर
चियाइरहेछ एकाबिहानै
खोजिरहेछ कसैलाई
यात्राको धङधङीसँगैको लालिमा जडेर
दिनहुँ पहिलोबाजि बेर्दोरहेछ
मेरै हिमाललाई बाहुपाशमा
र, चुम्दोरहेछ स्नेहिल स्पर्शले नजिकिंदै
मादक ओठभरि सहस्र चुम्बनका निलडामहरू
राखेर न्यानो अँगालोमा
बिस्तारै मनोरम मनोवाञ्छित पहाडलाई पनि
निर्लज्जसँग सुमधुर मुस्कान पोखेर
बिछ्याउदै बिस्कुन बिस्तारै आफैंभित्र
खोज्दोरहेछ एक उत्परिवर्तन
बलात् विरहको ज्वाला हुर्काएर हुर्हुरी
फैलाएर ज्योतिर्मय प्रकटन ।
*               *              *
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *