राजनीति

कांग्रेस महाधिवेशन निर्वाचन समिति संयोजक अधिकारीको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन् । उनको राजीनामा हिजो शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले १४ औं महाधिवेशनका लागि झन्डै दुई वर्षअघि अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । टिमबाट असहयोग भएको भन्दै संयोजक अधिकारीले पार्टी कार्यालयमा राजीनामा दर्ता गराएको बुझिएको छ । पाँच सदस्यीय निर्वाचन समितिमा खम्ब खाती, गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल रहेका छन् । १३ औं महाधिवेशन निर्वाचन समितिको संयोजकमा अधिकारी नै थिए ।

निर्वाचन समितिका संयोजक अधिकारीले राजीनामा बुझाएसँगै महाधिवेशन प्रभावित हुने बताइएको छ । एकता प्रकृया नथालिएको भन्दै सिन्धुपाल्चोक र सप्तरी जिल्लामा क्रियाशील फर्म पार्टी केन्द्रीय कार्यालय पठाएको छैन भने बारालगायत २ नम्बर प्रदेशका केही जिल्लामा समायोजन विवाद ज्यूका त्यूँ छ । कांग्रेस केन्द्रीय समितिको बैठक २७ गतेलाई बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *