विचार

व्यक्ति परिवर्तन कि प्रवृत्ति

नेपालको राजनीतिक भविष्यलाई लिएर हुने छलफलहरुमा सकरात्मकभन्दा निराशा ज्यादा देखिने र अभिव्यक्त हुने गरेको छ । तल्लो तहदेखि माथिल्लो तहसम्म क्रियाशील राजनीतिक व्यक्तिहरुको आचरण, स्वभाव, चरित्र र पृष्ठभूमिसमेतलाई हेर्दा आशा राख्ने ठाउँ कमजोर नै देखिन्छ । विचार र सिद्धान्तलाई सम्पूर्ण रुपले त्यागेका र मूल्य, मान्यता र आदर्शका बारेमा सामान्य समज पनि नभएका व्यक्तिहरुको आकर्षण, प्रवेश र संरक्षणले भविष्यसँग पनि आम मानिसको धारणा आशावादी बन्न नसकेको हो । व्यापारी, ठेकेदार डन, भ्रष्टचारीलगायतका वैद्य, अवैद्य कमाइ गरेको पैसावालाहरुको प्रवेश र उनीहरुको संरक्षण गर्ने नेतृत्वको सोच र व्यवहारबाट राजनीतिमा निष्ठाका साथ लागेका व्यक्तिहरु किनारा लाग्ने क्रमले निरन्तरता पाएकै छ । त्यसमा सुधार हुनेभन्दा त्यस्तै पृष्ठभूमिका मानिसको खोजी गरी आफ्नो आर्थिक र राजनीतिक हैसियतलाई सुनिश्चित गर्ने दृष्टिकोणबाट नेतृत्व र नेतृत्वलाई प्रभावमा पार्ने व्यक्तिहरु निर्देशित छन् । बिग्रिएको अवस्थाबाट सुधार गर्नेभन्दा थप बिगार्ने दिशातर्फको क्रियाशीलताकै कारण आम नागरिक भविष्यको मार्गचित्र स्पष्ट देऋख्दैनन् । विश्लेषकहरुले मैदानमा देखेका व्यक्तिहरुको सोच, शैली, स्तर र क्षमतालाई लिएर भोलिको राजनीतिक सकरात्मक दिशातर्फ उन्मुख हुने सम्भावना देखेका छैनन् ।

सवाल व्यक्तिको होइन, प्रवृत्तिको हो । कस्तो प्रवृत्ति राजनीतिमा फस्टाइरहेको छ ? प्राथमिकतामा कुन कुन पृष्ठभूमिका मानिस परेका छन् ? नेताहरुको नजरमा पर्नेहरुको अनुहार, चरित्र व्यवहार र क्षमता कस्तो छ ? इमान्दारिता नैतिकता र निष्ठाले स्थान पाएको छ कि छैन ? बिहानदेखि बेलुकासम्म नेताहरु कस्ता व्यक्तिहरुबाट घेरिएर बसेका छन् ? उनीहरुले आम मानिसको सोच, चाहना र दृष्टिकोण नेतृत्वको पहुचमा पु¥याउन सकेका छन् वा खास खास पृष्ठभूमिका व्यक्तिहरुको स्वार्थ पूरा गराउने पुलको भूमिका निर्वाहा गरिरहेका छन् ? राजनीतिक संस्कार नभएका स्वार्थ समूहसँग सम्बन्ध बनाएका सामान्य राजनीतिक ज्ञान समेत नभएका व्यक्तिहरुलाई सहयोगीको रुपमा रुचाउदै राजनीतिक नेतृत्वसँग परिचित भएर नै होला नेपालको राजनीतिकक भविष्य सुखद र सकरात्मक हुन्छ भन्ने विश्वास छैन । जसले निराशाको पारो ह्वात्तै बढाएको हो । यसप्रति नेतृत्व कति पनि गम्भरि छैन । यसैगरी चल्दै जान्छ, यही नै मार्गचित्र हो भन्ने शारीरिक हाउभाउ बुझेको मानिस नेपालको भाग्य र भविष्य उज्जवल छ भन्ने सक्दैनन । अवैध धन्दा चलाउनेहरुसँगको सामिप्यतालाई नजिकबाट नियाली रहेका जानकारहरुको दृष्टिकोणमा सबैभन्दा भ्रष्ट नै राजनीतिक नेतृत्वलाई देख्छ । नेतृत्वमा रहेका व्यक्तिहरुले चाहाने हो भने सुधार सम्भव छ तर आफ्नो सुविधा, सम्पन्नताको आधारको रुपमा रहेको वर्गलाई चिढ्याउन र उनीहरुको एकाधिकार तोड्न नेपालको राजनीतिक नेतृत्व इच्छुक छैन । क्रमशः उनीहरुकै बाहुल्यता र वर्चश्व बढ्दै गएको छ । नयाँ पुस्ता झ्न बढी भ्रष्ट र अनैतिक बन्दै गएको छ । त्यस्तै प्रवृत्ति स्थापित हुने वातावरण बन्दै गएकोले भोलिको पुस्तासँग पनि आश गर्ने अवस्था छैन ।

यसमा सबै एकसे एक देखिन्छन । के कांग्रेस के कम्युनिष्ट, राजावादी र माओवादी सबै सबै मात्रै खाओवादी भएका छन् । छोटो समयमा चप्पलबाट चारपाङ्ग्रेको हैसियत बनाएका मानिसहरु बाहुल्यता चौतर्फी विस्तार भएको छ । त्यसको स्रोत के हो ? कहाँबाट आयो ? राज्य दोहन मात्र होइन, तस्करी, कालो बजारी, धन्दुकारीका नाइकेहरु नेतृत्वसँगको निकटता र सामिप्यता देखाइ इमान्दार र निष्ठावान राजनीतिकर्मीहरु माथि धावा बोलिरहेका छन् । आफ्नो स्वाथै अनुकूलको व्यवस्थापन र भागवण्डा मिलाइ श्रोत र साधन माथि एकलौटी गरिरहेका छन् । यस्तो प्रवृत्तिलाई संरक्षण गरिरहेको राजनीतिक नेतृत्व र यस्तो नेतृत्वबाट शिक्षित पुस्ताले कस्तो नेतृत्व प्रदान गर्ला ? अनुहार हेर्दा नै निराश हुनुपर्ने अवस्था छ । आउने पुस्ताको चरित्रले नै आगामी नेपालको भविष्य अन्धकार छ भन्ने अनुमान लगाउन सकिन्छ । पद्धति र प्रक्रियामा सुधार गर्ने, गराउने संयन्त्र बन्न नसक्दासम्म र असल मानिसहरुले निर्मम हस्तक्षेप नगर्दासम्म नेपालको भविष्य सुखद् हुने देखिँदैन । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पठाएको विप्रेषणबाट अर्थतन्त्र चलायमान हुँदासम्म आफ्नो सेवा र सुविधा विस्तार गर्ने भ्रष्टाचार र अनियमितता हुने क्रमले निरन्तरता पाउँछ । सामान्य उत्तरदायित्वको जिम्मेवारी पनि बहन गर्न तयार नहुने नोकरशाही तन्त्र र भ्रष्ट आचरणको राजनीतिक नेतृत्वको गठजोडले यथार्थस्थितिलाई नै उपयुक्त अवसरको रुपमा लिइ यसलाई निरन्तरता दिन चाहन्छ । यो वा त्यो नामका राजनीतिक दल, यसको नेतृत्व, विरोध वा समर्थन गर्ने व्यक्ति वा समूह सबै कुन न कुनै किसिमले उल्लेखित गिरोहको चँगुलमा परेको देखिँदा तत्काल नै प्रभावकारी हस्तक्षेपको सम्भावना देखिँदैन । ‘काले काले मिलेर खाउँ भाले’ कै अवस्थाले मुलुकलाई गाँज्ने देखिन्छ ।

जबसम्म राजनीतिक नेतृत्व तस्कर, माफिया र भ्रष्टहरुको आतिथ्यता, सत्कार, भोजभतेर तथा उपहारबाट उम्किन सक्दैन, तबसम्म राजनीतिक संस्कार र संस्कृतिको श्रीगणेश हुँदैन । स्वार्थ समूहले नीति निर्माताहरुलाई प्रभावमा पारेर आफ्नो स्वार्थअनुकूलको निर्णय गराउँछन् । अर्थात् उनीहरुका लागि अनुकूल हुने वातावरण बनाउँछन् । त्यसले सम्पूर्ण क्षेत्रलाई प्रभाव पार्छ । राजनीतिक अन्य सार्वजनिक सेवा प्रदायक संस्थाहरु सेवामुखी नभएर स्वार्थमुखी बन्छन् । उनीहरुको जिम्मेवारी नै फरक हुन्छ । निर्णय गर्नुभन्दा अघि बनाइने नीति नियन नै स्वार्थ समूहको इच्छा र चाहना बमोजिम हुन्छ । संसदमा समेत विभिन्न स्वार्थ समूहका व्यक्तिहरु प्रशस्त छिरेका छन् । राजनीतिक नेतृत्वलाई प्रभाव पारेर दलको टिकट नै खरिद गरेर सामानुपातिकबाट व्यापक किनबेच भएर निर्वाचित भएका व्यक्तिहरुले पारेको प्रभाव स्वार्थ समूहरुसँग सम्बन्धित छ । उनीहरुका व्यवसायिक क्षेत्रसँग जोडिएको स्वार्थ अनुकूलको नीति, निर्माण र निर्णय हुने गर्दछ । जुन आम मानिसको हित, चाहना र सुरक्षासँग सम्बन्ध नै राख्दैन । आफ्नो देशका जनताको स्वार्थ र चाहनामा भन्दा स्वार्थ समूहको इचछामा अनुकूलतामा हाम्रो राजनीतिक नेतृत्वको गम्भीरता देखिन्छ ।

एउटा सामान्य नागरिकको प्रश्न छ– कहिले देश र जनता प्राथमिकतामा पर्छन् ? सत्ताको खेलमा रमाउने राजनीतिक दल र यसको नेतृत्व अनि पछि पछि लाग्ने लम्पट कार्यकर्ताले कहिले सोचेका छन् । के को लागि राजनीति ? के मुद्दामा झगाड ? कुन राष्ट्रिय मुद्दामा दलहरुका बीचमा बुझेका भएको हो ? नेकपाको घर झगडामा देश र जनतासँग सम्बन्धित मुद्दाका विषय छन्? देउवा र रामचन्द्रको गाँड कोराकोर कुनै विचार, सिद्धान्त, लक्ष्य र कार्यक्रमसँग सम्बन्धित छ ? अनय दलहरुको झगडा, एकता वा विभाज के देश र जनताका सवालहरुसँग जोडिएका छन् ? ओलीको ठाउँमा नेपाल, दाहाल वा देउवा आएर तात्विक अन्तर आउँछ । ठाकुरलाई बनाउँदा जनता केन्द्रविन्द्रमा रहन्छन् ? व्यक्तिको परिवर्तन वा विस्थापनको प्रवृत्तिको ? प्रवृत्तिमा फरकपन देख्नु पर्छ कि पर्दैन, आम नागरिकले ? व्यक्ति परिवर्तन चाहेका छैनन्, प्रवृत्तिको पराजय खोजेका छन् । भ्रष्ट, अनैतिक अयोग्य र स्वार्थसमूहको रक्षक प्रवृत्तिको पराजय नै जनताको मुख्य एजेन्डा हो । सार्वजनिक संस्थाहरुको जनउत्तरदायित्व आजको आवश्यकता हो । इमान्दारिता निष्ठा र सुसंस्कृत समाजको अगुवाइ गर्ने राजनीतिक नेतृत्वको प्रस्तावना जनताको प्राथमिकतामा छ । यसतर्फको गम्भीरता र प्रयत्नको आगमनप्रति जनताको रुचि छ । व्यक्ति परिवर्तनको मोह भंग भएको देखिन्छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *