समाचार

मेलम्चीको उद्घाटनमा किसुनजीको नाम उच्चारण गर्दा ओलीको राजनीतिक कद घट्थ्यो ?

यही चैत १५ गते आइतबारदेखि राजधानी काठमाडौं उपत्याकाबासीले मेलम्चीको पानी प्रयोग गर्न थालेका छन् । मेलम्चीको पानी राजधानी काठमाडौंबासीलाई खुवाउने सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना साकार भएको छ । एक महिना अघि उपत्यकाको सुन्दरीजलमा खसालिएको पानी चैत १५ गते देखि काठमाडौंबासीको घर घरका धारामा प्रवाह गरिएको छ ।

आफ्नो घरको धारामा मेलम्चीको पानी खस्न थालेपछि काठमाडौंबासीमा खुशीको सीमा छैन । भट्टराईले पहिलो पटक प्रधानमन्त्री हुँदा २०४७ सालमा मेलम्ची खानेपानी आयोजना अघि बढाउने घोषणा गरेका थिए । तर त्यो एक वर्षे कार्यकाल संविधान लेखन तथा आम निर्वाचन सम्पन्न गराउँदैमा वित्यो । दोस्रो पटक प्रधानमन्त्री बन्न भट्टराईले आठ वर्ष थप पर्खनु पर्र्‍याे। वीरगञ्जबाट चुनाव जितेर दोस्रो पटाक प्रधानमन्त्री बनेका भट्टराई ६ महिना मात्रै पदमा रहे । तर भट्टराईको यो ६ महिना मुलुकका लागि कति महत्वपूर्ण रह्यो ? भन्ने कुरा मेलम्ची खानेपानी आयोजनाले पुष्टि गरेको छ । मेलम्ची खानेपानी आयोजना भट्टराईको त्यही ६ महीने कार्यकालको उपज हो ।

कुनै पनि व्याक्तिले कति अवधी शासन सत्ता सञ्चालन गर्र्‍यो ? भन्ने कुराले इतिहासमा खासै अर्थ राख्दैन, शासन सत्ता संचालन गर्दा मुलुकका लागि के के योगदान ग¥यो ? भन्ने प्रश्नको उत्तर सर्वोपरी हुन्छ । उदाहरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकाल तीन वर्ष विताई सकेका छन्, तर उल्लेखनीय काम अहिलेसम्म एउटा पनि भएको छैन । नेपालको इतिहारमा सन्त नेता भट्टराई दुई पटक गरी करिव १८ महीना मात्रै प्रधानमन्त्री बने । पहिलो एक बर्षे कार्यकाल संविधान जारी गरी आम निर्वाचन सम्पन्न गराएका कारण र दोस्रो ६ महीने कार्यकाल मेलम्ची खानेपानी आयोजना निर्माण सुभारम्भ गरेका कारण इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । बास्तवमा किसुनजीले गरेका यी दुवै काम आँफैमा आब्बल थिए । एक वर्षभित्रै संविधान निर्माण गरी आम निर्वाचन समेत सम्पन्न भएको इतिहास नेपालमा त छँदैछैन , विश्वमा समेत छैन । मेलम्ची आयोजनाकै कुरा गर्ने हो भने मेलम्चीको मुहान पुग्न काठमाडौं उपत्याकाबाट ५५ किलोमिटर सडक दूरी पार गर्नुपर्छ । मुहानबाट २७ किलोमिटर सुरुङ खनी मेलम्ची खोलाको पानी काठमाडौं उपत्याकामा खसालिएको छ ।


यति लामो दूरीबाट खानेपानीको आपूर्ति नेपालका अन्य शहरमा त छँदै छैन,विश्वका थोरै शहरमा मात्रै गरिएको छ । मेलम्ची हिमाली क्षेत्रबाट उत्पन्न भएको खोला हो । त्यसैले मेलम्चीको पानी शुद्ध मात्रै होइन स्वादिलो समेत छ । यति शुद्ध र स्वादिलो पानी विश्वका थोरै शहरमा मात्रै आपूर्ति भएको छ । ढिलै भए पनि खानेपानीका मामिलामा राजधानीबासीले अब आँफूलाई भाग्यमानी महशुस गर्दैछन् ।
चैत १५ गते परीक्षणका रुपमा केही सीमित धारामा मात्रै पानी खसालिएकोे थियो । परीक्षण सफल भए पछि चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विशेष समारोहका साथ भृकुटी मण्डपमा निर्मित ढुंगेधारामा खानेपानीको उद्घाटन गरिएको छ ।

२०४६ सालमा वहुदलीय व्यवस्था पुनवर्हाली यता नेपालमा स्मरण गर्न लायक कुनै काम भएको छ भने त्यो मेलम्ची खानेपानी आयोजना नै हो । निकै टाढाको दूरीबाट २७ किलोमिटर लामो सुरुङ निर्माण गरी खानेपानी ल्याउनु भनेको नेपाल जस्तो गरिव र प्रविधि नभएको मुलुकका लागि सामान्य कुरा होइन । किनकी सन्त नेता भट्टराईले मेलम्चीको पानी ल्याउने घोषाणा गर्दै गर्दा मुलुकका बुद्धीजीवि तथा केही प्राविधिकहरुले समेत खिसी टिउरी गरेको तीथो यर्थाथ हाम्रो सामु छ । त्यति मात्रै होइन ‘ यो बुढो बर्मुचा जे मन लाग्यो त्यही बोल्छ’ भन्दै राजधानी काठमाडौं बासीले २–२ पटक सम्म चुनाव हराइदिए पछि तेस्रो पटक चुनाव लड्न सन्त नेता भट्टराई वीरगञ्ज पुुग्नु परेको तीतो यर्थाथता नेपालको इतिहासमा एउटा कलंकका रुपमा रहिरहनेछ ।

मेलम्ची खानेपानी आयोजनाका उज्याला पाटाहरु जति छन् अँधेरा पाटा त्यो भन्दा कम छैनन् । पहिलो कुरा त सात वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०५६ सालमा निर्माण थालिएको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन २२ वर्ष अर्थात २०७८ साल पुग्यो । भट्टराई तीन पटक काठमाडौंमा निर्वाचन लडे तीनै पटक जित्ने अवसर पाएनन् । प्रजातन्त्र सर्वोत्तम शासन व्यवस्था हो भनिन्छ, राजधानी काठमाडौं शिक्षित तथा सचेत जनता बस्ने ठाउँ पनि भनिन्छ, तर मेलम्ची खानेपानी आयोजनाको कुरा गरेकै कारण कृष्णप्रसाद भट्टराईलाई सँधै चुनाव हराई रहने जनता पनि काठमाडौंकै हुन् ।

मेलम्चीको कुरा गरिरहँदा कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबासीले के कति अपमान र तिरस्कार गरे ? भन्ने कुरा नयाँ पुस्ताले थाह पाउनु जरुरी हुन्छ । २०४८ सालको आम निर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका तत्कालिन प्रधानमन्त्री भट्टराईले नयाँ बानेश्वरमा आयोजित आमसभामा बोल्दै भनेका थिए,‘राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी हो, यसका लागि मैले धेरै स्रोत खोजेँ, उपत्यकाभित्र कुनै स्रोत देखिन, अब मेलम्चीबाट पानी ल्याएर म काठमाडौंवासीलाई खुवाउँछु ।’भट्टराईले मेलम्चीको पानी ल्याउने घोषणा गर्दै गर्दा खुसीले ताली पिट्ने र खिसी गर्दै हाँस्नेहरू बराबरजस्तै थिए । मञ्चमा बस्नेहरू पनि धेरै हाँसेका थिए । मञ्चमा बस्नेहरू हाँसेको देखेपछि सन्त नेता भट्टराईले पनि हाँसो थाम्न सकेनन् उनी पनि एक छिन हाँसे । भोलिपल्टका मिडियामा उक्त समाचार हदैसम्मको ‘जोक’का रूपमा आयो ।

नेपाली कांग्रेसका सभापति,बहालवाला तथा भावी प्रधानमन्त्री भट्टराई २ सय ५ निर्वाचन क्षेत्रमध्ये त्यतिबेला जहाँबाट पनि उम्मेदवार हुन सक्थे । उम्मेदवार बनिदिन अनुरोध गर्दै उनी कहाँ धेरै जिल्लाबाट डेलिगेसन आएको थियो, तर उनले काठमाडौं क्षेत्र नं १ नै रोजे । केही ठूला नेताहरू दुई–दुई ठाउँबाट उम्मेदवार बने तर उनी काठमाडौं क्षेत्र नं १ बाट मात्रै उम्मेदवार बने । मुलुकका सबैभन्दा सचेत मतदाता बस्ने क्षेत्र भएका कारण आफूलाई धोका हुँदैन भन्ने ठम्याईका साथ भट्टराईले यो जोखिम लिए । तर बानेश्वरको आमसभामा मेलम्चीको पानी ल्याउने घोषणा गर्दा मञ्चमा बस्नेहरूसमेत हाँसेको देखेपछि भट्टराईको मनमा चिसो पसेको थियो । सचेत मतदाता भनिए पनि उनीहरूले भट्टराईको मेलम्ची सपनालाई हावादारी ठाने । कसैले गम्भीर रूपमा लिएनन् । पढेलेखेका र प्रविधि बुझेकाहरूले समेत प्रश्न उठाए–‘२७ किलोमिटर लामो सुरुङ बनाएर पानी ल्याउने घोषणा सम्भव छैन ।’ नभन्दै भट्टराईले चुनाव हारे ।

त्यसपछि मुलुकमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा,लोकेन्द्रबहादुर चन्द,सूर्यबहादुर थापा र फेरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । मेलम्चीको कुरा उच्चारणमा सम्म आएन । ०५६ सालको आम निर्वाचनमा भट्टराई भावी प्रधानमन्त्रीको रूपमा फेरी काठमाडौं–१ मा उम्मेदवार बने । उनले बानेश्वरमा आयोजित चुनावी आमसभामा फेरी त्यो कुरा दोहो¥याए । यसपटक भने मान्छे नहाँसेको देखेपछि भट्टराईले भने, ‘म प्रधानमन्त्री भएकै बेला पिउन मात्रै होइन सडक पखाल्ने गरी मेलम्चीको पानी आउनेछ, म आँफै अघि सरेर सडक पखाल्ने छु,वरिपरी कम्युनिस्टहरू देखापरे भने तिनका आँखामा पानी छ्यापिदिनेछु ।’ यसपछि भने आम सभामा निकैबेर हाँसो र तालीको पर्रा छुट्यो ।

दोस्रोपटक प्रधानमन्त्री हुनासाथ भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाइहाले । अनेक प्रतिकुलताका बाबजुद २२ वर्षपछि अब सन्त नेता भट्टराईको मेलम्ची सपना पूरा भएको छ । यदी काठमाडौं–१ का मतदाताले ०४८ सालको निर्वाचनका क्रममा भट्टराईले गरेको उक्त घोषणालाई हाँसी मजाकका रूपमा नलिइदिएको भए आजभन्दा १५ वर्षअघि नै मेलम्चीको पानी काठमाडौं आइसक्ने थियो ।

अर्को तीतो यर्थाथता के हो भने काठमाडौं महानगरपालिकाको बानेश्वर तथा कोटेश्वर क्षेत्र नेपाली कांग्रेसको पहिलेदेखिको गढ मानिन्छ । कांग्रेसका कार्यकर्ता मात्रै इमान्दार भइदिएको भए पनि भट्टराईले चुनाव हार्ने अवस्था थिएन । हरेक चुनावमा काठमाडौंको बानेश्वर क्षेत्रमा कांग्रेसको झण्डा नगाडिएका घर कमै हुन्छन् । तर, किसुनीलाई तीन–तीन पटकसम्म पराजित गरियो । २०६४ साल पछि भने तीन वटै आम निर्वाचनमा यसै क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले चुनाव जित्दै आएका छन् ।

जसका लागि आफ्नो जीवन अर्पण गरे उनैबाट कृष्णप्रसाद भट्टराईले सबै भन्दा बढी धोका पाए । उनले नेपाली कांग्रेसकै लागि आफ्नो सारा जीवन अर्पण गरे । तर कांग्रेसकै अन्तरघातका कारण चुनाव हारिरहे । एक पटक पनि जननिर्वाचित प्रधानमन्त्री नवनी दिवंगत हुने अवस्था उत्पन्न भए पछि मात्रै उनी चुनाव लड्न वीरगञ्ज पुगे । वीरगञ्जमा पनि भट्टराईले मेलम्ची खानेपानी आयोजनाकै कुरा गरे । वीरगञ्जबासीका लागि मेलम्ची खासै सरोकारको विषय थिएन,तर वीरगञ्जबासीले काठमाडौंबासीको जस्तो कृतघ्नता देखाएनन् । चुनाव जिताए ।

ढुक्क हुने अवस्था छैन

‘मेलम्चीको पानी आयो, अब काकाकुलको नियती बोहोर्नु पर्दैन’ भनेर राजधानीबासी ढुक्क हुनु पर्ने अवस्था भने छैन । १० वर्ष अगाडीको मागलाई आधार बनाएर तयार गरिएको आयोजना पुरा भएको हो अहिले । १० वर्षको अवधीमा खानेपानीको माग १३ करोड लिटर बढी सकेको छ । त्यसैले मेलम्चीबाट थपिने दैनिक १७ करोड लिटर पानीले राजधानी काठमाडौंको खानेपानीको आवश्यकता पुरै संवोधन गर्दैन । अझै पनि वर्षायामका चार महिना बाहेक दैनिक १३ करोड लिटर पानी अपुग हुन्छ । काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, साविकको स्रोतबाट वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण हुँदै आएको छ । सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । जसमध्ये ४० प्रतिशत त पुराना पाइपलाइनको कारण चुहावट हुने गरेको छ । अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले उपत्याकाको खानेपानी प्रणालीमा जोडिएको छ । छिटैनै अर्को प्रसोधन केन्द्रबाट थप साँढे ८ करोड लिटर जोडिँदैछ । यसरी पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्याकाको प्रणालीमा जोडिनेछ । अब उपत्याकामा खानेपानीको आपूर्ति दैनिक ३० करोड लिटर पुग्नेछ । तर अहिलेको माग दैनिक ४३ करोड लिटर हो । काठमाडौंमा खानेपानीको माग हरेक वर्ष एक डेढ करोड लिटर वृद्धि हुने गरेको छ ।

मेलम्चीको पुरक आयोजनाका रुपमा रहेका यांग्री र लार्केको निर्माण तत्काल थालनी नगर्ने हो भने काठमाडौंको खानेपानी समस्या केही वर्ष भित्रै जस्ताको तस्तै हुनेछ । मेलम्चीको मुहान भन्दा पूर्वतर्फ ९ किलोमिटर सुरुङ बनाएर लार्के र त्यस भन्दा पुर्व तर्फ २ किलोमिटर सुरुङ बनाएर यांग्री खोला मिसाउने आयोजना नै मेलम्चीको पुरक आयोजना हो । यो आयोजनाबाट दैनिक ३४ करोड लिटर पानी थप्न सकिन्छ । तर यो काम सम्पन्न गर्न मेलम्ची जस्तै २२ वर्ष लाग्यो भने कुनै अर्थ रहन्न । २७ किलोमिटर लामो सुरुङ निर्माण गर्ने, ११ सय किलोमिटर पाइप लाइन निर्माण गर्ने जटिल काम सम्पन्न भइसकेकेको छ । अब पुरक आयोजनाका लागि एउटा ९ किलोमिटर र अर्को २ किलोमिटर सुरुङ बनाए पुग्छ । सरकारको इच्छा शक्ति हुने हो भने यो ठूलो कुरा होइन, तीन वर्ष भित्रै सम्पन्न गर्न सकिन्छ । विगत २२ वर्षको जस्तै नियति झेल्नु पर्ने अवस्था आउन नदिन नागरिक समाज पनि जागरुक बन्नु पर्छ । बोरिङबाट निकालिएको पानी जार,ट्यांकर र बोत्तलमा भरेर महंगो मुल्यमा बेच्न पल्केका ब्यापारीहरुले मेलम्चीको पुरक आयोजना (यांग्री र लार्के) मा अवरोध नपु¥याउलान भन्न सकिन्न ।

ओलीको मुर्खता
यसैगरी मेलम्ची खानेपानीको स्मारकका रुपमा २४ सै घण्टा पानी प्रवाह हुने गरी राजधानी काठमाडौंको भृकुटी मण्डपमा स्मारक निर्माण गरिएको छ । यो स्मारक उद्घाटन गर्ने क्रममा यही चैत २० गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सन्तनेता भट्टराईको नाम उल्लेख गरिन् । यो राम्रो पक्ष हो । त्यो स्मारकमा सन्तनेता भट्टराईको शालिक पनि राखिएको भए वर्तमान केपी शर्मा ओली सरकार धन्यवादका पात्र हुने थिए । तर, प्रधानमन्त्री ओलीले यो ऐतिहासिक अबशर गुमाए । आँफूलाई विद्वान दावी गर्ने ओलीले भानुभक्त आचार्यको योगदानलाई उजागर गराएकै कारण मोतिराम भट्ट अमर बनेका हुन् भन्ने हेक्का समेत राखेनन् । नेपाली रामायण भानुभक्तले लेखेका हुन्, मोतिराम भट्टले त प्रकाशित गरेका मात्रै हुन्, तर भानुभक्तको नाम सँगै मोतिरामको नाम पनि अमर रह्यो । यदि भृकुटी मण्डपको स्मारकमा किसुनजीको शालिक राखेको भए आफ्नो नाम पनि किसुनजीको नाम सँगै अमर हुन्थ्यो भन्ने हेक्का प्रधानमन्त्री ओलीले राखेनन्, घमण्डले आँफैलाई खान्छ भन्ने कुरा सत्य रहेछ । मेलम्ची आँफूले ल्याएको भनेर प्रधानमन्त्री ओलीले जति चिच्याए पनि,जति कराए पनि काठमाडौं उपत्याकाको खानेपानीको इतिहासमा नाम लेखिने भनेको सन्त नेता भट्टराईको नै हो । अब ओलीको नाम त सन्त नेता भट्टराईको योगदान मेटाउन चेष्टा गर्ने खलपात्रका रुपमा मात्रै लेखिने भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *