राजनीति

मन्त्री पद छाडेर फ्ल्याट खोज्दै कर्णालीका तीन एमाले नेता

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीले आज पदबाट राजीनामा दिने भएका छन् । राजीनामा दिन लागेकामा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् ।

मन्त्री ज्वालाले एमालेबाट मन्त्री भएका तीनैजनाले सामूहिक राजीनामा दिन लागेको जानकारी दिए । आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् । चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

राजीनामासँगै मन्त्री क्वार्टर छाड्नुपर्ने भएपछि एमाले नेताहरु अहिले बासस्थानका लागि फ्ल्याट खोज्न थालेका छन् । अहिले मन्त्री पदबाट राजीनामा दिन लागेका नेता एमालेमा माधवकुमार नेपाल पक्षका छन् । कर्णालीमा एमाले ओली पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन लागेको छ ।

प्रदेश मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही छन् । एमालेले समर्थन फिर्ता लिनेवित्तिकै मुख्यमन्त्री शाही अल्पमतमा पर्ने भएका छन् । कर्णाली प्रदेशमा ६ जना कांग्रेस सांसद छन् । एकजना राप्रपाका छन् । तीनवटै पार्टी मिल्दा पनि अर्को सरकार नबन्ने भएकाले कर्णाली प्रदेशमा एमालेकै सरकार बन्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *