राजनीति

नयाँ सरकार गठनबारे भाेलि विर्तामोडमा सभापति देउवाले मुख खोल्ने

विर्तामोड । नेपाली कांग्रेस झापाले आयोजना गरेको प्रजातन्त्रबादी नेतृ स्वर्गीय गिरिराजकुमारी प्रसाई (ज्ञानु मुमा) को श्रद्धाञ्जली सभामा सहभागी सभापति शेरबहादुर देउवा सोमबार बिहान विर्तामोड पुगे ।

प्रसाई प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्वर्गीय सिके प्रसाई (भरतबाबु) की श्रीमती हुन् । नेतृ प्रसाईको चैत्र १० गते मंगलबार ९० बर्षको उमेरमा निधन भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा बोल्दै देउवाले स्वर्गीय प्रसाईले सामाजिक सेवा र राजनीतिमार्फत समाजमा खेलेको भूमिका अनुकरणीय भएको बताए ।

श्रद्धाञ्जली सभापश्चात देउवा केही दिनअघि निधन भएका कांग्रेस नेता तम्मर राईको काँकरभिट्टास्थित घरमा मृतकका परिवारसँग भेटघाटमा सहभागी भए । काँकडभिट्टाबाट फर्केर देउवा साबिक धाइजन गाविसका पूर्वउपाध्यक्ष स्वर्गीय इन्द्र सिटौलाको परिवारलाई समवेदना व्यक्त गर्न उनको घरमा पुगे ।

त्यसपछि देउवाले झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक शिक्षालय र कनकाई नगरपालिकामा निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठानको भवन अवलोकन गरेको कांग्रेसका झापा सभापति उद्धव थापाले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले मंगलबार बिहान बिर्तामोडमा पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । श्रद्धाञ्जली कार्यक्रममा कुनै राजनीतिक अभिव्यक्ति नदिएका सभापति देउवाले मंगलबार सञ्चारकर्मीहरुसँग वर्तमान राजनीतिबारे विशेष कुराकानी गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *