देश

एमालेको सुदूरपश्चिम प्रदेशमा भीम रावल नै शक्तिशाली, लेखराज भट्ट देखिए कमजोर

काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुग्दा एमालेमा विभाजनको अवस्था देखिएको छ । पार्टी अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरेपछि अहिले समानान्तर कमिटीको अभ्यास सुरु भएको छ ।

माधव पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटी गठन गरिरहेको छ । अब प्रदेशमा पनि सुरु भएको छ । यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाट भएको छ । माधव पक्षले सोमबार र मंगलबार दुई दिन सुदूरपश्चिम प्रदेशको भेला राखेको छ । आजसम्म चल्ने भेलाले समानान्तर प्रदेश संरचना निर्माण गर्ने भएको छ ।

मंगलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने छ । नौवटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी गरिने भएको छ । सोमबार एमाले माधव समूहका जिल्ला अध्यक्षहरूले पछिल्लो बस्तुस्थितिबारे जानकारी गराएका थिए । एमाले पूर्ववत् अवस्थामा फर्किसकेपछि देखिएको अन्तर्विरोध अन्त्य गर्नसमेत उनीहरूले नेतृत्वलाई सुझाव दिए ।

नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्जसमेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो । एमाले ब्युँतिएपछि भट्ट नै इन्चार्ज कायम छन् ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् । बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए । अहिलेको अवस्था हेर्दा एमालेमा रावल नै सुदूरपश्चिम प्रदेशमा शक्तिशाली देखिएका छन् । प्रतिनिधिसभातर्फका सांसद भने माधव नेपाल पक्षमा भीम रावल, झपट रावल, दिपकप्रकाश भट्ट, निरा जैरु र बिना बुढाथोकी मगर छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *