रिबन

गण्डकीमा माओवादीका मन्त्रीले राजीनामा दिने निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी पार्टीलाई ब्युँताउने फैसला गरेपछिको अवस्थामा माओवादी सरकारबाट बाहिरिन भएको हो ।

माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको प्रदेश अर्थ विकास समितिका सभापति एवं माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए । उनले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन समीकरणका लागि प्रयास गर्ने निर्णय बैठकमा भएको बताए । माओवादी केन्द्रबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् ।

गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ साँसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *