समाचार

एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य बोहोरालाई माओवादीले माग्यो स्पष्टीकरण

काठमाडौँ — नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग्दै बुधबार स्पष्टीकरण सोधेका हुन् । माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि पछिल्लो समय एमालेमा प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भनी माओवादीले बोहोरालाई स्पष्टीकरण सोधेको हो ।

सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा नेकपा ( माओवादी केन्द्र ) र नेकपा (एमाले) साविककै पार्टी रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाशीलता नेकपा (एमाले )पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिन आएकोले माओवादी केन्द्रले बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ काे ख बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ? भनी लेखिएकाे छ ।

स्पष्टीकरण सोधिएको २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न बोहोरालाई निर्देशन दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *