समाचार

नेपालमा बढ्दैछ कोरोनाको ग्राफ, जेठ–असारमा स्थिति प्रतिकूल हुने अनुमान

काठमाडौं । भारतमा कोरोनाभाइरसको दोस्रो लहर तीव्र बढेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउन सक्ने संकेत गरेको छ।

खासगरी नेपालमा युके भेरियन्ट भित्रभित्रै भुसको आगोझैं फैलिरहेको अनुमान गरिएको छ । त्यही भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार १ चैतमा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यो दिन नेपालमा २ लाख ७५ हजार २३१ जना संक्रमित पुगेका थिए। त्यसयता क्रमिक रूपमा संक्रमण बढ्दै आएको देखिएको छ।

त्यसको सात दिनपछि ८ चैतमा नयाँ संक्रमितको संख्या ७७ पुगेको छ। चैत पहिलो साताको औसतमा प्रतिदिन ९६ संक्रमित थपिएका छन्। चैत दोस्रो सातामा औसत संक्रमितको संख्या झन् बढेको छ। यो साता औसत प्रतिदिन १३३ संक्रमित थपिएका छन्।

नयाँ संक्रमित थपिने क्रम चैत तेस्रो साता झन् बढेको छ। २२ चैतमा नयाँ संक्रमित १७६ पुगेका छन्। यो साता औसतमा दैनिक थपिएका संक्रमितको संख्या १५८ पुगेको छ। यो साताको शुरूआत पनि राम्रो देखिएको छैन। २३ चैतमा २६६ थपिएका छन् भने २४ चैतमा २६० संक्रमित पुष्टि भएका छन्।

२५ चैत अर्थात् पछिल्लो २४ घन्टामा २९८ नयाँ संक्रमित देखिएका छन्। योसँँगै संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या दुई हजार २०१ रहेको छ। यही दरमा कोरोना बढ्दै गए आगामी जेठ असारमा नेपालमा भयावह अवस्था आउन सक्ने प्रक्षेपण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *