समाचार

शैक्षिक संस्था बन्द गरी अनलाइनमार्फत पठनपाठन गर्ने तयारी

काठमाडौं । कोरोना भाइरस बढेसँगै सरकारले शैक्षिक संस्था बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । बिहीबार स्वास्थ्यले यससम्बन्धी प्रस्ताव शिक्षा मन्त्रालयमा पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । ‘हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,’ उनले भने ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् । ‘स्कुलहरु अनलाइन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन,’ शुक्रबार बिहान एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले भनेका छन् ।

मन्त्री त्रिपाठीले लकडाउनमा जाने अवस्था आउन नदिन यसो गर्नुपरेको बताए । उनले आग्रह नमाने कठोर निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । तर शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *