राजनीति

जसपाको साँठगाँठ ओलीसँग कसिलो

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको छ । हिजो शुक्रबार कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गरेको थियो ।

कांग्रेसको उक्त प्रस्ताव जसपाले तामेलीमा राखेको छ । जसपाले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिएर चलाखीपूर्ण ढंगले बैठकबाट उम्कियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा समावेश हुन जसपा निकै अघि बढिसकेको पाइएको छ ।

कांग्रेसले बोलाएको तीन दलको बैठकमा जानुअघि बुढानिलकण्ठमै रहेको एक होटलमा बसेर जसपाका शीर्ष नेताहरुबीच छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग संवाद निकै अघि बढिसकेको जानकारी गराए ।

नयाँ सरकार गठन गर्ने, आफूहरुले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्ने विषयमा कांग्रेस र माओवादीले तत्परता नदेखाएपछि ओलीसँग संवाद अघि बढाएको ठाकुरको भनाइ थियो । सो बैठकमा सहभागी एक नेताका अनुसार, ओलीसँगको संवादले प्रक्रियागत काम अघि बढिरहेको जानकारी ठाकुरले शीर्ष नेताहरुलाई गराएका थिए ।

ओलीसँगको निरन्तर वार्ता प्रक्रिया निकै अघि बढेका कारण जसपाले कांग्रेसले बोलाएको बैठकमा पनि सोही विषय राखेका थिए । जसपाले दुई दिनअघि बन्दी कार्यकर्ताको रिहाइका लागि सरकारलाई २०८ जनाको फाइल पठाइसकेका छन् ।

स्रोतका अनुसार, ओलीसँग ठाकुरको दैनिकजसो भेटघाट र छलफल चलिरहेको छ । ठाकुरले संविधान संशोधनदेखि राजबन्दी छुटाउने विषयमा परामर्श गरिरहेका छन् । कांग्रेस र माओवादी केन्द्रसँग मिलेरभन्दा एमालेसँग मिलेर आफ्नो मुद्दालाई सम्बोधन गराउन सहज हुने मनस्थितिमा ठाकुर देखिएका छन् ।

कांग्रेस र माओवादीको सरकार बन्ने वा नबन्ने टुंगो नभएकाले पनि ठाकुर ओलीसँग बढी विश्वस्त देखिएका हुन् । पूरा गर्न नसक्ने माग प्रस्तावका रुपमा अघि सारेर कांग्रेससँगको सम्बन्धलाई अन्त्य गर्न मुडमा ठाकुर देखिएका छन् । रेशम चौधरीको रिहाइका लागि नेपाली कांग्रेस सकरात्मक छैन ।

जसपाकै नेताहरु उपेन्द्र महतो, बाबुराम भट्टराईहरु भने ओलीले आफ्ना माग सम्बोधन गर्न नसक्ने र प्रतिगामी भएकाले मिल्न नहुने तर्क गरिरहेका छन् । ठाकुरहरुले भने आफूहरुले मधेसका जनतासँग गरेको बाचा पूरा गराउने उपयुक्त समय भएकाले ओलीलाई साथ दिएर आफ्ना माग पूरा गराउनुपर्छ भन्ने पक्षमा देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *