समाचार

लुम्बिनी प्रदेश सरकार पनि परिवर्तन हुन सक्ने, शंकर पोखरेललाई बढ्यो चिन्ता

काठमाडौं । विपक्षी दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै छन् भन्ने सुइँको पाएलगत्तै प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल कहिलेसम्म आफ्नो पद कायम रहने हो भन्ने तनावमा परेका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र माओवादीबाट एमालेमा प्रवेश गरेका प्रदेश सांसदमाथि कारबाही गरेपछि मुख्यमन्त्री पोखरेलको पदको दिनगन्ती सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीकै दबाबका कारण अहिलेसम्म जसपाले निर्णय लिन सकेको छैन । नत्र पोखरेलको एक साताअघि नै कुर्सी धरापमा परिसक्थ्यो । लुम्बिनीमा ६ सांसद जसपाको छ । पोखरेललाई साथ दिन नहुने मत जसपामा बलियो छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनामले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन्। केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि परेकाले त्यसअनुसार नै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने उनको भनाइ छ।

तर कुन कुन दल मिलेर सरकार परिवर्तन हुँदैछ भन्ने बिषयमा भने उनले खुलाएनन्। बुटवलमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री केसीले केन्द्रीय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने उनको जिकिर थियो। ‘प्रदेशमा राजनीतिक छलफल विधि र विधानभित्र बसेर भइरहेकै छ,’ उनले भने, ‘सरकार गठनको छिट्टै निकास निस्कन्छ।’

मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए। उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए। लुम्बिनीमा माओवादी केन्द्र, कांग्रेस र जसपाको गठबन्धन गरेर नयाँ सरकार बनाउने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *