जलश्रोत/उर्जा

६ महिनामा सेती नदीको प्रगति ३५ प्रतिशत

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण ३५ प्रतिशत पूरा भएको छ । प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले ६ महिनाअघि सुरु भएको आयोजनाको निर्माण तीव्र गतिमा अघि बढेको हो ।

अहिले बाँध, पाइप लाइन र विद्युतगृहका संरचनाको निर्माण धमाधम भइरहेको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताए । उनका अनुसार बाँध क्षेत्रमा ‘इन्टेक’ र ‘सेटलिङ बेसिन’ निर्माण भइरहेको छ ।

आयोजनाको ६.२ किलोमिटर लामो पाइप बिछ्याउन जग खन्ने काम भइरहेको पनि उनले बताए । ‘पाइप राख्ने २ किलोमिटर लाइन खनेर सकियो,’ उनले भने, ‘विद्युतगृहको जग पनि तयार हुँदैछ ।’

विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानी फेरि नदीमा खसाल्ने टेलरेस पाइप लाइन निर्माण गर्नसमेत काम भइरहेको छ । कोरोना (कोभिड–१९) महामारीका कारण केही समय निर्माण प्रभावित भए पनि अहिले गति लिएको पाण्डेले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले दिएको तालिकाअनुसार यो आयोजनाबाट २०७९ साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य थियो । सरकारले कोरोना महामारीका कारण ढिलो भएका आयोजनाको निर्माण अवधि १ वर्ष थप गरिदिएकाले अब २०८० साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने नयाँ तालिका पाएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत विद्युतगृहदेखि ५ किलोमिटर दुरीको न्यू हेम्जा सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । कम्पनीले सबस्टेसनसम्म आवश्यक प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अघि बढाएको छ । प्रसारण लाइनको अध्ययन पूरा भइसकेको छ । अहिले डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *