बागमती प्रदेश

दोलखाको बिगुमा जिप दुर्घटना, चारको मृत्यु

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ मा यात्रुबहाक जिप दुर्घटना भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको बिगुतर्फ जादै गरेको वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप सोमबार राती ११ बजेतिर दुर्घटना भएको हो । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन । उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन ।

यात्रुबहाक जिप सिँगटीनजि सडकबाट खसेको थियो । दुर्घटनमा परी एकै गाउँका बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का घाइते भएका छन । यसै गरी सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।

केही घाइतेको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *